काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्ना प्रमुख पुरुष क्रिकेट प्रतियोगितालाई नयाँ स्वरूप दिने निर्णय गरेको छ । स्कटल्यान्डको एडिनबर्गमा बसेको बोर्ड बैठकले टी २० विश्वकप र एकदिवसीय विश्वकप दुवैको प्रतिस्पर्धात्मक संरचनामा व्यापक परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार सन् २०२८ देखि आयोजना हुने पुरुष टी २० विश्वकपमा समूह चरणपछि खेलाइने ‘सुपर एट’ हटाएर ‘सुपर १०’ चरण लागू गरिनेछ । यसले दोस्रो चरणमा पुग्ने टोलीको संख्या आठबाट बढाएर १० पुर्याउनेछ ।
प्रतियोगिताको सुरुआती चरणमा २० टोलीलाई चार चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । त्यसपछि १० टोलीलाई दुई समूहमा पाँच पाँच टोलीका रूपमा विभाजन गरिनेछ ।
दोस्रो चरणमा प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच भने ‘क्रसओभर इलिमिनेटर’ खेल हुनेछ । एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ र विजेता टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ ।
आईसीसीका अनुसार नयाँ प्रणालीले प्रतियोगिताको अन्तिम चरणसम्म प्रत्येक खेलको महत्व कायम राख्नेछ । यसका साथै समूह चरणका खेलको संख्या ४० बाट ३० मा झर्नेछ भने दोस्रो चरणका खेल १२ बाट बढेर २० पुग्नेछन् । इलिमिनेटरका दुई अतिरिक्त खेलसमेत थपिने भएकाले नकआउट चरण अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
छनोट प्रक्रिया पनि परिमार्जन
टी-२० विश्वकप २०२८ को छनोट प्रणालीमा पनि परिवर्तन गरिएको छ । सन् २०२६ को विश्वकपमा सहभागी भएपनि स्वत: छनोट हुन नसकेका टोलीले सीधै ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछन् । स्कटल्यान्डलाई विशेष व्यवस्थाअन्तर्गत युरोप क्षेत्रीय फाइनलमा सोझै प्रवेश दिइनेछ ।
ग्लोबल क्वालिफायरका अन्य आठ स्थान भने क्षेत्रीय छनोटमार्फत भरिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुने व्यवस्था गरिएको छ ।
ग्लोबल क्वालिफायरबाट प्रत्येक क्षेत्रको उत्कृष्ट टोलीसँगै समग्र प्रदर्शनका आधारमा उत्कृष्ट तीन टोलीले निर्धारित मापदण्ड पूरा गरे विश्वकपमा स्थान बनाउनेछन् ।
सहयोगी राष्ट्रका लागि नयाँ अवसर
आईसीसी बोर्डले सहयोगी सदस्य राष्ट्रलाई लक्षित गर्दै १६ टोली सहभागी हुने नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको अवधारणालाई पनि समर्थन गरेको छ । प्रस्तावित प्रतियोगिता टी-२० विश्वकपअघि आयोजना गर्ने योजना छ, जसले एसोसिएट राष्ट्रलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
यद्यपि, उक्त प्रतियोगितालाई अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा बस्ने आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा पछि बोर्डले दिनेछ ।
एकदिवसीय विश्वकपमा पनि नयाँ स्वरूप
आईसीसीले १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपको प्रारूपमा पनि परिवर्तन गरेको छ । अब समूह चरणअघि ‘सुपर सिरिज’ नामक नयाँ चरण समावेश गरिनेछ । परिषद्का अनुसार यसले प्रतियोगिताको सुरुआती चरणलाई अझ प्रतिस्पर्धात्मक र अर्थपूर्ण बनाउने लक्ष्य राखेको छ ।






