सिरहा । सिरहाबाट ३१२ ग्राम खैरो हिरोइनसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको मधुबनीका ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् । भारतबाट लागुऔषध खैरो हिरोइन ल्याई मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा सप्लाई भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको निगरानी गरेको थियो ।
बिहीबार बिहान सिरहा नगरपालिका वडा नं. १३ मल्कनियास्थित भारत मधुबनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको थियो । टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई १ राउण्ड हवाइ फायर गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन ३३२ ग्राम, भारतीय नम्बर प्लेटको बीआर ३२४ भी ७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको छ ।




