सर्लाही । सर्लाहीको रामनगरमा करिब १० वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका ३ (साबिक रामनगर बहुअर्वा) निवासी ५५ वर्षीय विजय राय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राय २०७३ साल चैत १३ गते रामनगर गाउँपालिका ४ निवासी नागेन्द्रकुमार प्रसादमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोप लागेपछि फरार थिए ।
रायसहितका व्यक्तिहरूको कुटपिटबाट गम्भीर घाइते भएका नागेन्द्रकुमारको चैत २३ गते उपचारका क्रममा काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका रायलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।
पक्राउ परेका रायलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय मलङ्गवा चलान गरिएको प्रहरी निरीक्षक केसीले बताए ।




