कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ भुसुडीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १४ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ६:५५ बजे भुसुडीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ९२ प १३०९ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका १ सेखुईया निवासी राजकुमार विकका १४ वर्षीय छोरा आकाश विक गम्भीर घाइते भएका थिए ।
टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि भैरहवा लगिएकोमा साँझ ७:३५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताए ।
मोटरसाइकलको ठक्करबाट ४० वर्षीया स्थानीय राधिका लोध समेत घाइते भएकी थिइन् । उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी चौकी लवनीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा सङ्लग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




