सर्लाही । दसैँ, तिहार र छठलगायतका चाडपर्वका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तारको काम प्रभावित भएको छ । धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको सडक विस्तारमा खटिएका अधिकांश कामदार बिदामा घर फर्किएपछि निर्माणकार्य झन्डै ठप्प बनेको हो ।
सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पर्ने कमला–ढल्केबर–बागमती सडकखण्ड विस्तारमा कामदार अभाव, प्रतिकूल मौसम र चाडपर्वका कारण अवरोध आएको निर्माण कम्पनीले जनाएको छ । दसैँअघि घर गएका कामदार छठपछि मात्रै फर्किने भएकाले सडक निर्माणको काम अझै एक महिनासम्म प्रभावित हुन सक्ने देखिएको छ ।
हाल तीनवटै जिल्लामा छिटफुट रूपमा पुल निर्माणको काम मात्रै भइरहेको छ । सडक विस्तारको मुख्य काम भने ठप्प छ । निर्माणको ठेक्का अवधिको करिब ७० प्रतिशत समय बितिसक्दा पनि भौतिक प्रगति करिब ३० प्रतिशतमा सीमित रहेको आयोजना कार्यालयले जनाएको छ । उक्त प्रगति पनि मुख्यत: पुल निर्माणसँग सम्बन्धित छ ।
निर्माणमा ढिलाइ हुनुमा कामदार अभावसँगै सडक निर्माणका लागि आवश्यक जग्गा तथा संरचना खाली हुन नसक्नु र माटोको अभाव पनि प्रमुख कारण बनेका छन् । सडक विस्तारका लागि आवश्यक स्थान खाली गराउन तथा माटोको उत्खनन र आपूर्ति सहज बनाउन आयोजना कार्यालयले स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय र स्थानीय तहसँग समन्वय गरिरहेको छ ।
कमला पुलदेखि बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडक तीन वर्षभित्र विस्तार गर्ने लक्ष्य राखिएको छ । योजनाअनुसार बजार क्षेत्रमा सडकलाई छ लेन र अन्य स्थानमा चार लेनको बनाइनेछ । आयोजनालाई तीन खण्डमा विभाजन गरी निर्माण अघि बढाइएको छ । कमला पुलदेखि बडहरीसम्मको २२ किलोमिटर खण्ड भारतको इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले निर्माण गरिरहेको छ ।
बडहरीदेखि फूलजोरसम्मको २९ किलोमिटर र फूलजोरदेखि बागमती पुलसम्मको २३ किलोमिटर खण्ड चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का लिएका छन् । आयोजना कार्यालयका अनुसार हालसम्म धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाही खण्डमा ३६ प्रतिशत काम सम्पन्न भएको छ ।
निर्माण व्यवसायीले चाडपर्व सकिएलगत्तै कामलाई तीव्रता दिने तयारी गरेको बताएका छन् । तर, सडक निर्माणका लागि आवश्यक साइड क्लियर नहुनु र माटोको अभाव कायमै रहेकाले निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा चुनौती देखिएको छ ।
निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय बासिन्दा तथा यात्रुले धुलो, धुवाँ र आवागमनको सास्ती खेप्दै आएका छन् । समयमै काम सम्पन्न हुन नसके राजमार्ग आसपासका नागरिकले अझ लामो समयसम्म यस्तै समस्या भोग्नुपर्ने देखिन्छ ।




