सर्लाही । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
लालबन्दी निवासी तिमिल्सिना मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत थिए । आयोगका अनुसार ईश्वरपुर नगरपालिका ६ बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए ।
सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउको पुष्टि गर्दै अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज बनाइदिने नाममा रकम मागिएको आरोपमा कर्मचारी पक्राउ परेपछि मालपोत कार्यालयको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ । पक्राउ परेका तिमिल्सिनामाथि थप कानुनी अनुसन्धान तथा प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।




