रौतहट । रौतहटको गौर नगरपालिका ४ गढवामा मंगलबार राति गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात व्यक्तिले लक्षित गरी लगातार पाँच राउन्ड गोली प्रहार गर्दा स्थानीय रामविलास यादवका २८ वर्षीय छोरा राकेश कुमार यादव घाइते भएका हुन् ।
गाउँकै पानी ट्यांकी नजिक राति करिब ९:१५ बजे घटना भएको हो । गोली चलेको आवाज सुनेपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए । तर, गोली प्रहार गर्ने व्यक्ति को हुन् र घटनापछि कुन दिशातर्फ भागे भन्नेबारे खुल्न सकेको छैन ।
गोली लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको छ ।
उनको हात, पाखुरा र पिठ्युँमा गोलीका घाउ समेत रहेका छन् । डीएसपी गौतमले घाइतेको अवस्था गम्भीर रहेपनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।
आक्रमणको कारण अझै खुल्न सकेन
युवकमाथि पाँच राउन्ड गोली प्रहार हुनुको कारण अझै खुल्न सकेको छैन । व्यक्तिगत रिसइबी, आपसी विवाद वा अन्य कुनै कारणले आक्रमण भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत हुन सकेको छैन ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरी घटनास्थलको अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले बताए । गौरको घनाबस्तीमै रातिको समयमा भएको गोली प्रहारको घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ ।
सदरमुकामकै बस्तीमा भएको यस घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ । युवकलाई किन निशाना बनाइयो र गोली प्रहारमा संलग्न व्यक्ति को हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




