पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएका विभिन्न चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानबाट फरक–फरक मिति र समयमा ती विस्फोटक सामाग्री नियन्त्रणमा लिएका थिए ।
प्रहरीले बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरूको उपस्थितिमा खाल्डो खनेर त्यसमा पानी समेत राखी पुरेर उक्त सामाग्री नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले विज्ञप्ति जारी गर्दै अवैध रूपमा भित्र्याइएका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरिएको जानकारी दिए ।




