बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ औराहामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङको बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो ।
प्राप्त विवरणअनुसार थिङ बिहान करिब ८:१० बजे आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काटिरहेका थिए । सोही क्रममा अचानक सन्तुलन गुमाउँदा उनी रुखबाट तल खसेका थिए ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल सिमरा नगर अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहान ८:४९ बजे नै मृत घोषणा गरेका थिए । घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो । प्रहरीले बिहान ९:३७ बजे घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ ।
घटनाको वास्तविक अवस्था र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।




