एजेन्सी । ‘थ्री इडियट्स’, ‘जब वी मेट’, ‘कभी खुसी कभी गम’ जस्ता हिट फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी करिना कपुर बलिउडकी सफल अभिनेत्रीमध्ये पर्छिन् । सशक्त महिला चरित्र भएका फिल्महरुमा उनले प्रशंसनीय अभिनय गरेकी छिन् ।
‘कल हो ना हो’, ‘राम–लीला’ जस्ता ठूला प्रस्तावसमेत अस्वीकार गरेकी करिनाले अप्ठ्यारो समय नभोगेको भने होइन । यस्तो समय पनि थियो, जब करिनाले फिल्मका लागि अडिसन दिएपछि उनलाई फिल्मबाट हटाइयो ।
कोइमोइका अनुसार करिना आफैंलाई केही फिल्महरुमा अभिनय गर्न मन थियो तर विभिन्न कारणले त्यो पुरा हुन सकेन । शाहरुख खान अभिनीत ‘देवदास’ ती फिल्ममध्ये एक थियो । ‘देवदास’को मुख्य महिला पात्रमा अभिनेत्री माधुरी दीक्षित र ऐश्वर्या रायलाई लिनुअघि निर्देशक सञ्जय लिला भन्सालीले सुरुमा करिनालाई अभिनयका लागि प्रस्ताव राखेको कुरा धेरैलाई थाहा छैन ।
फिल्मका लागि करिनाले स्क्रिन टेस्ट समेत दिएकी थिइन्, तर पछि जानकारी नदिई उनलाई हटाइएको थियो । यसले निर्देशक सञ्जय र करिनाबीच मनमुटाव पनि बढाएको थियो । आफूलाई ‘देवदास’मा नलिएको कुराले करिना दु:खी थिइन् । उनले एक अन्तर्वार्तामा सञ्जयले आफूलाई अर्को फिल्ममा लिनैपर्ने बताएकी थिइन् ।
‘सञ्जयले मलाई उनको अर्को फिल्ममा लिनु पर्छ । म उनलाई त्यत्तिकै छोड्ने छैन, किनकी म उनको फिल्ममा अभिनय गर्न योग्य छु र यो कुरा उनलाई पनि थाहा छ,’ फिल्मफेयरमा करिनाले बताएकी थिइन्, ‘एक पार्टीमा किरण खेरले मलाई जबरजस्ती सञ्जयसँग भेटाइन् । देवदासमा किरणको पनि अभिनय थियो । सञ्जयले मलाई नभनी फिल्मबाट हटाएका कारण म दुखी थिएँ तर मैले उनलाई कहिल्यै नराम्रो निर्देशक वा उनीसँग काम नगर्ने भनेको छैन । त्यतिबेला म सानै थिएँ र मलाई त्यो फिल्ममा अभिनय गर्न मन थियो । देवदास सञ्जयको अन्तिम फिल्म होइन, उनले मेरा लागि एकल हिरोइन फिल्म बनाउनै पर्छ ।’




