एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा सन् २००० नोभेम्बर ३० मा १८ वर्ष उमेरमै मिस वर्ल्ड बनेकी थिइन् । उनले बलिउड हुँदै हलिउडसम्मका फिल्ममा सशक्त अभिनयमार्फत् आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापित गर्न सफल बनेकी छिन् ।
डिएनए इन्डियाका अनुसार, मिस वर्ल्ड २००० को प्रतिस्पर्धा बेलायतको मिलेनियम डोममा भएको थियो । प्रियंकाले ९५ देशका मोडललाई उछिन्दै मिस वर्ल्डको ताज हात पारेकी हुन् । मिस इटाली र मिस टर्की भने रनर-अप भएका थिए ।
प्रियंकाको जीवनशैली र कार्य क्षेत्र मिस वर्ल्ड भएसँगै फेरियो । उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । सन् २००२ मा तमिल फिल्म ‘थमिजा’ बाट यो क्षेत्रमा पाइला टेकेकी उनले २००३ मा निर्देशक अनिल शर्माको फिल्म ‘द हिरोः लभ स्टोरी अफ अ स्पाइ’ मा अभिनयसँगै बलिउड प्रवेश गरेकी हुन् ।
त्यसपछिका केही फिल्ममा सफलताको स्वाद चाखिसकेकी उनका लागि मधुर भन्डारकर निर्देशित ‘फेसन’ टर्निङ प्वाइन्ट बन्यो । ‘अन्दाज’, ‘अग्निपथ’, ‘क्रिश’, ‘सात खुन माफ’, ‘बर्फी’, ‘बाजिराव मस्तानी’, ‘डन १ र २ आदि उनका महत्वपूर्ण फिल्म हुन् ।
दर्जनौं हिट फिल्म दिएकी उनले मुख्य अभिनेत्री, चरित्र अभिनेत्री र नकारात्मक भूमिकामा समेत अवार्डहरू जितेर आफूलाई भर्साटाइल साबित गरेकी छिन् । सन् २०१५ मा त झनै उनले हलिउड प्रवेश गरेर सफलताको अर्को छलाङ मारिन् ।
यही वर्ष सेप्टेम्बरदेखि उनी एबिसी (अमेरिकन ब्रोडकास्टिङ कम्पनी) स्टुडिओबाट प्रसारण हुने ‘क्वान्टिको’ मा काम गर्न थालिन् । क्वान्टिको अमेरिकी थ्रिलर नाटक हो । यो २०१५, सेप्टेम्बर २७ देखि प्रशारण भएको थियो ।
हाल उनी बलिउड र हलिउड दुवैतिरको काम सन्तुलन मिलाएर करिअर अघि बढाइरहेकी छिन् । अभिनयसँग प्रियंकाको प्रेम र वैवाहिक जीवनका खबर पनि मिडियामा छाइरहन्छ । सन् २०१८ को मेदेखि अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग ‘डेट’ गर्न थालेपछि उनको प्रेम सम्बन्ध बारे निकै चर्चा भएकाे थियो ।
उनीहरूको सम्बन्ध २०१८ अगस्टमा इन्गेजमेन्ट हुँदै सोही वर्षको डिसेम्बरमा विवाहमा परिणत भयो । डिसेम्बर लागेसँगै प्रियंका र निकको वैवाहिक सम्बन्धले दुई वर्ष पूरा गरेको छ । अभिनयमा जस्तै प्रियंकाले आफूलाई अन्य क्षेत्रमा पनि सक्रिय छिन् ।
कहिले गीत गाएर, कहिले फिल्म निर्माण गरेर अनि कहिले समाजसेवाकाे काममा सक्रियता देखाएर उनले वास्तविक जीवनमै पनि भर्साटाइल प्रमाणित गर्दै आएकी छिन् । उनको यो क्षमताको चर्चा बलिउडदेखि हलिउडसम्म निरन्तर भइरहन्छ ।
डिएनए इन्डियाले प्रियंका मिस वर्ल्ड हुँदाका केही रोचक क्षण बारे तयार पारेको सामग्री अनुसार, त्यसबेला उनी भर्खरै १८ वर्षकी थिइन् । मिस इन्डिया २००० घोषणापूर्व प्रियंकालाई सोधिएको थियो, ‘यदि तपाईं इडेन बगैंचामा भगवान हुनुहुन्थ्यो भने कसलाई सजाय दिनुहुन्थ्यो ? एडम, इभ वा स्याटनलाई ?’
कार्यक्रम प्रस्तोता राहुल कन्नाले सोधेको यो प्रश्नको जवाफमा प्रियंकाले भनेकी थिइन्, ‘यदि म इडेनको बगैंचामा पुलिस भइदिएको भए म स्याटनलाई सजाय दिन्थे । स्याटन सर्प हो र ऊ दुष्ट छ । र, मलाई लाग्छ दुष्टता बनाइने होइन, हुने कुरा हो । इभलाई स्याटन सही लाग्यो, उनले स्याटनलाई विश्वास गरिन् । राम्रो-नराम्रो भन्नेमा म पक्षपाती हुन चाहन्नँ, तर सत्य यही हो कि दुष्ट भइन्छ, कसैले बनाउने होइन ।’
यही जवाफसँगै उनी मिस इन्डिया २००० घोषित भइन् । खासमा प्रश्न इडेनको बगैंचामा भगवान भइदिएको भए के गर्नुहुन्थ्यो भन्ने थियो । तर जवाफ दिँदा प्रियंकाले पुलिस भइदिएको भए भन्दै सम्बोधन गरिन् । तर उनको त्यही उत्तरले उनलाई मिस इन्डिया २००० बनायो ।
२००० मा मिस इन्डिया घोषित भएको केही महिनापछि उनी आत्मविश्वासका साथ मिस वर्ल्ड प्रतिस्पर्धामा सहभागी बनेकी थिइन् । प्रतियोगिताको ‘स्विमसुट सेग्मेन्ट’ माल्दिभ्समा भएको थियो । त्यसमा प्रियंकाले गुलाबी रङको स्विमसुट लगाएकी थिइन् अनि कम्मरमा हरियो रङको स्कार्फ बाँधेकी थिइन् ।
फिनालेका बेला पनि उनले गुलाबी रङकै स्ट्रिपलेस (कुममा अड्याउने तुना नभएको) गाउन लगाएकी थिइन् । गाउनसँग सुहाउने हार उनको घाँटीमा टपक्क कसिएको देखिन्थ्यो । साथमा उनले सल पनि छाडेकी थिइनन् ।
त्यसबेला लगाएको लुगा असजिलो थियो भन्ने विषयमा प्रियंकाले हालै प्रशंसकसँग कुराकानी क्रममा भनेकी छन्, ‘सन् २००० सालमा म मिस वर्ल्ड भएँ । तर त्योबेला लगाएको लुगा मेरो शरीरमा टेपले टाँसिएको थियो । कार्यक्रम अन्त्यसम्म त्यो लुगा सम्हाल्न मलाई धौधौ पर्यो ।’
प्रियंकाको लुगा टाँसेका टेपहरू विस्तारै उक्किन थालेपछि उनलाई चिन्ता पर्यो । तर उनले आफ्नो लुगा जोगाउन तुरून्तै दिमाग लाइन् । उनले त्यस्तो समयमा आफ्नो लुगा कसरी सम्हालिन् भन्ने बारे थप भनेकी छन्, ‘म शोमा हिँड्दा नमस्कार गर्दै हिँडे । दर्शकहरूलाई मैले नमस्कार गरेँ भन्ने लाग्यो तर वास्तवमा मैले त्यो लुगा अड्याउन त्यसो गरेकी थिएँ । पछिको पूरा समय मैले नमस्कार गरेरै बिताएँ ।’
मिस वर्ल्ड २००० घोषणा भएपछि मिस वर्ल्ड १९९९ ले आफ्नो शिरबाट ताज खोलेर प्रियंकालाई लगाइदिइन् । मिस वर्ल्ड १९९९ भारतकै युक्ता मुखी हुन् । मिस वर्ल्ड २००० को फाइनल राउन्डमा प्रियंकालाई यस प्रकारको प्रश्न सोधिएको थियो, ‘तपाईंको विचारमा अहिले संसारमा सबभन्दा प्रभावकारी र सफल महिला को लाग्छ ? अनि किन ?
सो प्रश्नको उत्तरमा उनले भनेकी थिइन्, ‘मैले प्रशंसा गर्ने थुप्रै महिला हुनुहुन्छ । तर सबैभन्दा बढी म मदर टेरेसाको प्रशंसक हुँ । मदर टेरेसा विचारशील र दयालु हुनुहुन्छ ।’ यही उत्तरसँगै प्रियांका मिस वर्ल्डको ताजबाट सम्मानित भएकी हुन् । तर प्रश्न अनुसारको उत्तर दिनमा भने प्रियंका चुकेकी थिइन् । किनभने मदर टेरेसाको सन् १९९७ मा निधन भएको हो ।
तै पनि उनी मिस वर्ल्ड बन्ने पाँचौं भारतीय बनिन् । सन् २००० मै प्रियंकासँगै मिस इन्डियाका प्रतिस्पर्धी लारा दत्त ‘मिस युनिभर्स’ र दिया मिर्जा ‘मिस एसिया प्यासिफिक’ भएका थिए । लारा र दियाले पनि बलिउडमा अभिनय गरेर चर्चा कमाए । प्रियंकाकाे अभिनय यात्रा सफलताको नयाँ गन्तव्य खोज्दै निरन्तर अघि बढिरहेको छ ।




