काठमाडाैं । सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै हल सञ्चालन गर्न भदाैमै अनुमति दियाे । तर असाेज लागिसक्दा समेत निर्माताहरूले आफ्नो चलचित्र रिलिज गर्ने आँट गर्न सकेका छैनन् । विदेशी चलचित्र पर्खेर बसेका छन्, हलवाला र निर्माताहरू ।
यो बर्ष अहिलेसम्म ३ वटा चलचित्रले प्रदर्शन मिति ताेकेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग आज चलचित्र निर्माता, वितरक र प्रदर्शकहरुको छलफल गरेका छन् । मंगलबारसम्म सबै समस्या समाधान गरेर चलचित्र क्षेत्रलाई अगाडि बढाउने बिषयमा छलफल भएको बुझिएको छ । सबैकाे सहमतीमा चलचित्र क्षेत्र चलायमान बनाउने कसरत जारी छ ।
यसैबीच निर्माता तथा निर्देशक दीपकराज गिरीले चलचित्र रिलिज गर्न डराएको भन्दै निर्माताहरुप्रति आक्रोश पोखेका छन् । दशैंमा रिलिज मिति ताेकेकाहरूले अब आँट गर्नुपर्ने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिलेको संकटमा हामिलाई हल चलाउन विदेशी फिल्म नै चाहियो ! कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथीहरूले त आँट गर्नुपर्ने थियो नि ! सहज हुँदा एक आपसमा भिड्ने, अप्ठेरो बेला चाहिँ…!’




