एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनलाई मुम्बईको नारकोटिक्स नियन्त्रण ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ । आर्यनसहित ८ जनाले क्रुज सिपमा ड्रग्स पार्टी गरेको आरोप एनसिबीले लगाएको छ । शनिबार राति मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा उनीहरूलाई पक्राउ गरिएको एनसिबीले जनाएको छ ।
एनसिबीका अधिकारीहरू पर्यटक बनेर उक्त क्रुजमा यात्रा गरेका थिए । अहिले आर्यनसहित ८ जनालाई हिरासतमा राखी मुम्बई प्रहरीले बयान लिइरहेको छ । एनसिबीका निर्देशक समीर वानखेडेले आर्यनलाई दक्षिण मुम्बईको अफिसमा सोधपुछ चलिरहेको जानकारी दिएका छन् ।
पक्राउ परेकाहरूको ब्लड स्याम्पल पनि लिइएको छ । ‘आर्यन खानको अलवा अरबाज मर्चेन्ट, मुनमुन धमीचा, नूपुर सारिक, इस्मीत सिंह, मोहक जसवाल, बिक्रान्त छोकर र मोमित चोपडासँग अहिले सोधपुछ चलिरहेको छ,’ वानखेडेले भने ।




