काठमाडौं । भोलि विजया दशर्मी अर्थात् दसैँको टिका र जमारा थाप्ने दिन । अधिकांशको घरमा तीन दिनअघि नै दसैँका लागि मासु भित्रिसकेको छ । कतिले घरमै खसी–बोका काट्छन् भने कतिले प्रशस्त किनेर ल्याउँछन् । दशैं भन्नेबित्तिकै टिका, जमारा र मासु प्राथमिकतामा परिहाल्छ ।
मासुमा प्रोटिन हुन्छ, शरीर तन्दुरुस्त राख्छ, शरीरमा बल दिन्छ त्यो त सबैलाई थाहा छ । तर यही मासु कतिका लागि भने घातक बन्न सक्छ । बालबच्चाका लागि त बढ्नमा सहयोग पुर्याउँछ मासुको प्रोटीनले तर दिर्घरोगीहरुको स्वास्थ्यमा यसले गहिरो असर पुर्याउने पोषणविद् बताउँछन् । ‘मुटुका बिरामी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड लगायतका बिरामीहरुले मासु धेरै खानु हुँदैन । यूरिक एसिडको रोगीले रातो मासुः खसी, बोका, राँगाको मासु नखाएकै जाति हुन्छ । यस्तो मासु खाँदा जोर्नीहरु दुख्न थाल्छन्’, पाेषणविदकाे भनाइ छ ।
पाेषणविद् केपी लम्सालका अनुसार दिर्घरोगीहरुले कम मात्रामा अथवा सेतो मासुः कुखुरा, बंगुर, सुंगुर, माछा लगायत ठिकै मात्रामा खान हुन्छ । यस्तै खसी बोका, अथवा राँगा भैँसी जुनसुकै होस्, यीनहरुको भित्रि अंगहरुः फोक्सो, मुटु, आँखा सकेसम्म खानु हुँदैन । अनि अर्को कुरा रगत जसलाई रक्तीको रुपमा खाने चलन हुन्छ, त्यो पनि सकेसम्म खानु हुँदैन ।
धेरैजसो रोगहरु रगतमै हुने गर्दछन् । यदी रोगी खसी पर्यो भने उसको शरीरको रगत अर्थात् रक्ती खाँदा रोग सर्न सक्छ । हाम्रो स्वास्थ्यको लागि त्यो निकै घातक हुन सक्छ । भित्रि अंगहरुको सेवनबाट रोग सर्ने जोखिम बढी हुन्छ । त्यसकारण यसमा पनि सावधानी अपनाउनु पर्छ ।
मासुलाई कसरी धेरै दिनसम्म टिकाउने, गन्धमुक्त राख्ने ?
तापक्रममा राख्दा मासु छिटो बिग्रिन्छ । त्यसैलाई यसलाई तापक्रम मिलाएर राख्नुपर्छ । त्यो पोसिलो भएर नै हो फेरी चाँडै बिग्रने । किनकी हामीलाई जे पोषिलो हुन्छ, ब्याक्टेरियाहरुलाई पनि त्यही नै बढी पोषिलो हुन्छ । त्यसकारण उनीहरुले छिटो बिगार्छन् । त्यहि भएर कम तापक्रममा अथवा फ्रिजमा राख्ने गर्नुपर्छ । फ्रिजमा पनि लामो समय राखिन्न । एक दुई दिनसम्म फ्रिजमा राखेर खान सकिन्छ । त्यसले मासुको पोषणलाई धेरै असर गर्दैन बरु स्वादलाई चाहीँ अलिअलि बिगार्न सक्छ ।
दशैंमा काटेको मासु तिहारसम्म खाने चलन पनि छ । यसलाई सुकुटी बनाएर, बोसोलाई मजाले पगालेर, उमालेर त्यसमा मासु डुबाएर राख्ने, नुनपानीमा राख्दा पनि लामो समयसम्म टिकाउन सकिन्छ । यो परम्परागत तरिका हो तर वैज्ञानिक पनि छ ।




