काठमाडाैं । दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् । तपाईंले यो समस्यालाई सामान्य रूपमा लिनुभएको हुनसक्छ । त्यसो गर्दा समस्या झन् ठूलो हुनसक्छ ।
किनकि तपाईं पायरिया अर्थात् (दन्तहर्षा) रोगबाट पीडित हुनुहन्छ वा त्यो सम्भावना छ भन्ने कुरा बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । पायरिया दाँतको गम्भीर रोग हो । यसलाई चलनचल्तीको भाषामा दन्तहर्षा भनिन्छ । सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ ।
यो रोग स्वास्थ्यसँग सम्बन्धित अनेक कारणले हुन्छ । यो समस्या दाँतसँग जोडिएको समस्यासम्म मात्र सीमित छैन । यसले मुटु, कलेजो, मिर्गौला, फोक्सोजस्ता शरीरका संवेदनशील अंगहरूमा समेत नराम्रो असर पार्छ । पायरिया रोग दाँत र गिजामा निर्मित भइरहेका जीवाणुहरूको कारणले गर्दा हुन्छ ।
दाँतको सफाइमा कमी, लापरबाही वा पूर्ण सफाइ नहुनाले यो रोग सबैभन्दा छिटो हुन्छ । त्यसैलाई पायरिया भनिन्छ । यसमा व्यक्तिको सास गन्हाउनु, ब्रस गर्दा गिजाबाट रगत आउनुका साथै अन्य समस्या देखिन्छन् । जाडो मौसममा पायरिया भएकाहरूलाई चिसो पानी पिउनै मुस्किल हुन्छ । पानीमात्र होइन, कहिलेकाहीँ त हावाले पनि दाँत सिरिंग बनाउँछ । तातो चिया वा चिसो पेयपदार्थ खानै सकिँदैन ।
अमलाको नियमित सेवन गर्नाले वा बेलको फल खानाले दन्तहर्षका रोगीहरुलाई राम्रो फाइदा गर्छ । ल्वाङको तेल दाँतमा राख्नाले वा पोलेको अदुवाको टुक्रा वा ल्वाङलाई मुखमा राखेर चेप्ने र दत्तिउनको डाँठले सधैँ दाँत माझ्नाले दाँत दुखेको ठीक हुन्छ ।
राती सुत्ने बेलामा बरको चोपलाई दाँतमा लगाउनाले, सुपारीलाई आगोमा पोलेर धुलो बनाई त्यसमा सुपारीको रुखको चोप र कपुर मिलाएर दाँत माझेमा दाँतको सम्पूर्ण रोगबाट मुक्ति मिल्दछ । वरको चोपमा रुवा बेरेको सिन्का भिजाएर दुखेको वा किरा लागेको बंगाराको प्वालमा मात्र राख्दा किरा मर्छन् र सडिसकेको दाँत छ भने पनि सजिलै निस्कन्छ ।




