पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चल रहेका छन् । उनीहरूकाे फिदिमस्थित समर्पित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ६१ यात्रु घाइते भएका छन् ।
घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो । बस शान्तिपुरमा अर्को सवारी साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको थियो ।




