काठमाडौं । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बढ्दो कोरोना संक्रमितको संख्या सुनेर आत्तिन नहुने बताएका छन् । ओमिक्रोन छिटो फैलिने भएपनि त्यति सिकिस्त नपार्ने प्रजाति भएको उनको भनाइ छ ।
‘दैनिक संक्रमितको संख्या सुन्दा संक्रमण नभएका व्यक्तिलाई पनि मनोवैज्ञानिक असर पर्दछ । मनमा कल्पना, उत्साह, योजना आदि हराउँदै जान्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तसर्थ संख्या देखेर आत्तिने नगरौं । अमेरिका, युरोपमा दिनमा लाखौं संक्रमित हुँदा पनि अस्पताल भर्ना हुने तथा मृत्यु हुने संख्या एकदम न्यून छ । सबै काम चलिरहेको छ । ओमिक्रोन छिटो फैलिने तथा सिकिस्त त्यति नपार्ने प्रजाति हो ।’
उनले नेपालमा दैनिक १० हजार संक्रमित हुँदा पनि अस्पताल प्याक नभएको उल्लेख गर्दै अस्पताल भर्ना हुने र आइसीयु चाहिने संक्रमित एकदम न्यून रहेको बताए । खोप नलगाएका र गम्भीर दीर्घरोग लागेका व्यक्तिमात्र ओमिक्रोनको जोखिममा रहेको उनको भनाइ छ ।
उनले सरकारको भर पर्नुभन्दा पर्याप्त स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै भनेका छन्, ‘डबल मास्क लगाएर, स्यानिटाइजर बोकेर काम गरौँ । खोप लगाऔँ , भीडभाडबाट बचौँ । लक्षण देखिए परीक्षण गरेर घरमै बसौं । हामीले गर्ने यहि हो ।’ खोप नलगाएका बालबालिका र जेष्ठ नागरिकलाई घरभित्र पनि आइसोलेसनमा राख्न सुझाउँदै उनीहरुलाई बचाउनु सबैको दायित्व भएको पाण्डेले बताए ।




