सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा २० लाखको लागतमा राम जानकी युवा क्लबको भवन निर्माण हुने भएको छ । नगर प्रमुख मनोज कुमार आचार्यको व्यक्तिगत पहलमा उक्त भवन निर्माण हुन लागेको हो ।
नगर प्रमुख आचार्यले मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई आग्रह गरी २० लाखको योजना पारी अहिले भवन निर्माण कार्य अघि बढाएको भक्तिपुरका स्थानिहरुले बताएका छन् ।
भक्तिपुरमा रामजानकी युवा क्लबको भवन नभएपछि खेल प्रेमी युवाहरुलाई निकै नै अप्ठयारो परेको अवस्था थियो । ७४ मा निर्वाचित तत्कालिन नगर प्रमुख मनोज देवकोटाले भवन निर्माण गर्न नगरपालिका बाट ३ लाख बजेट विनियोजन गरेपछि एलानी जग्गामा योजना राख्न नहुने भन्दै बजेट फिर्ता गरेपछि क्लबको भवन निर्माण कार्य अलपत्र परेको थियो ।
अहिले वर्तमान नगर प्रमुख आचार्यलाई समस्या सुनाएपछि भवन निर्माणको लागि तत्कालै २० लाख बजेट मन्त्रालयबाट पारेर भवन निर्माण कार्य अघि बढाएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । क्लबको भवन निर्माण हुने भएपछि युवाहरु अहिले उत्साहित भएका छन् ।




