रौतहट । रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका ३ मलाही चोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन् । उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन् । सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन् । उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ ।
बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए । त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो ।




