सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले जिल्ला मै पहिलो पटक लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरेको छ । पछिल्लो समय देशभरी डेङ्गुको संक्रमण फैलिएको भन्दै त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हरिवन नगरपालिकाले लामखुट्टे मार्ने स्प्रे छिट्न सुरु गरेको हो ।
‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ हरिवन नगरपालिकाले नगरलाई नै स्प्रे गर्ने अभियान अन्तर्गत पहिलो दिन मंगलबारबाट हरिवन नगरपालिकाको ११ को हरिवन बजारका विभिन्न स्थानहरुमा औषधी छिटेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका अनुसार औषधी छिट्न नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी वडामा खटिएका छन् । नगरपालिकाको एम्बुलेन्सले लामखुट्टे मार्ने औषधि छिटेको नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ले जानकारी दिनुभयो ।
डेङ्गु रोग नियन्त्रण तथा रोकथामको प्रमुख उपाय भनेकै लामखुट्टे बस्ने बासस्थान र त्यसको लार्भा नष्ट गर्नु भएकोले औषधी छिटिएको नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले बताउनुभयो । उहाँले घर वरपर रहेका खाली बोतल, टायर तथा फोहोरहरु लामखुट्टेको बासस्थान भएकोले ती स्थानहरु सफा गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै घरमा राखिएका गमला, नहरको पानीमा समेत लामखुट्टेले फुल पार्ने भएकोले ती स्थानहरुमा पानी जम्न नदिन नगरवासीलाई हरिवन नगरपालिकाले आग्रह गरेको छ ।
हरिवनमा डेङ्गु संक्रमितहरुको यकिन तथ्यांक नभएपनि ३०/३५ जनाभन्दा बढी यसबाट संक्रमित भएका हुन सक्ने नगर स्वास्थ्य शाखाले जनाएको छ ।




