एजेन्सी । कोरोनाबाट संक्रमित बिरामीको सुघ्ने क्षमता कम हुन्छ तर यो साधारण रुघाखोकीबाट प्रभावितहरुको सुँघ्ने क्षमताभन्दा एकदमै फरक हुन्छ । जर्नल राइनोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कोरोना संक्रमितको सुँघ्ने र स्वाद लिने तरिका फरक हुन्छ । कोरोना संक्रमितले तिख्खर र मिठो स्वादको अन्तर पत्ता लगाउन सक्दैनन् ।
अध्ययनका अनुसार रुघाखोकी लागेकाहरुमा पनि सुँघ्ने क्षमता कम हुन्छ तर यो कोरोना संक्रमितको भन्दा नितान्त फरक हुन्छ । ईस्ट एंगलियाको विश्वविद्यालयमा सुँघ्ने क्षमताबाट जोडिएका विकारका विज्ञहरुको युरोपियन समूहले अनुसन्धान गरेको हो । यो अध्ययनमा प्रोफेसर फिलपोट पनि सहभागी थिए ।
यो पहिलो यस्तो अध्ययन हो जसमा कोभिड-१९ का बिरामीमा सुँघ्ने क्षमता अन्य श्वासप्रश्वासका बिरामीको भन्दा कति र के फरक हुन्छ भन्ने तथ्य पत्ता लागेको छ । कोभिड-१९ को बिरामीको सुँघ्ने क्षमता कम हुन्छ तर सजिलै श्वास फेर्न सक्छन् । उनीहरुको नाक बन्द हुँदैन । न सिंगान वा पानी जस्तो पातलो पदार्थ बग्छ ।
त्यस्तै तिख्खर र मिठो स्वादबीच अन्तर पनि कोभिड-१९ का बिरामीले थाहा पाउन सक्दैनन् । यो अनुसन्धानबाट कोभिड-१९ ले दिमाग वा सेन्ट्रल नर्भस सिस्टम संक्रमित गर्दछ भन्ने तथ्य पत्ता लागेको छ । यो अध्ययनमा शोधकर्ताले १० जना कोरोना बिरामी र १० जना रुघाखोकी लागेका बिरामीलाई सहभागी गराएका थिए ।
अध्ययनमा विभिन्न उमेर समूहका महिला र पुरुष दुवै सहभागी थिए । अनुसन्धानको क्रममा कोरोना संक्रमितको लक्षण अन्य श्वासप्रश्वास र रुघाखोकीका बिरामीको भन्दा फरक पाइयो । उदाहरणको लागि कोरोना भाइरस संक्रमितको शरीरमा शरीरको प्रतिरोधात्मक क्षमताले अत्यधिक प्रतिक्रिया गर्छ ।
यसलाई साइटोकाइन स्टर्म भनिन्छ । यसले स्नायु प्रणालीलाई प्रभावित गर्दछ । अनुसन्धानको निष्कर्षमा कोरोनाको बिरामीमा स्वाद तथा सुँघ्ने क्षमता एकदम प्रभावित हुने पाइयो जबकि सामान्य फ्लूमा यस्तो हुँदैन ।






