नेपाल र नेपाली शान्तिका प्रतीक रहेनन् । त्यसैले विद्रोही समूहहरुले भेटायो भने अपहरण पछि पनि मार्ने गर्छन् ।
१. केही दशक अगाडिसम्म नेपालले अंतर्राष्ट्रीय रूपमा आफूलाई विश्व शान्तिको लाइनमा राखेको थियो । त्यो अनुसारको परराष्ट्र नीति समेत अबलम्बन गरेको थियो । विश्वका थोरै देशहरूमा नेपाल पर्दथ्यो । चासो राख्ने विश्वले पनि चिन्दथ्यो ।
त्यसैले हामी जनताले पनि त्यही भन्थ्यौ: “हामीहरू शान्ति चाहन्छौं” । “हामी शान्ति प्रिय नेपालीहरु हौ” भनेर । तर अब त्यो छैन र होइन, नेपालले यो नीति छोडी सक्यो । विश्वले थाहा पाई सक्यो ।
२. २०४७/४८ साल पछि र अझ विशेष गरेर २०६२/६३ साल पछि नेपालले त्यो नीति पुरै त्यागेर, जुन राष्ट्रसँग धन छ, सम्पत्ति छ, हात हतियार तथा विभिन्न प्रकारको शक्ति छ तथा जसले विभिन्न प्रकारको जायज नाजायज सहयोग दिन्छन् उसैलाई सहयोग, समर्थन र उसैको पिछलग्गु भएर हिड्ने गरेको छ ।
घोर आश्चर्य नेपालको आफ्नो मौलिक परराष्ट्र नीति समेत अब छैन ! यही अन्तर्गत नेपालले अंतर्राष्ट्रीय फोरमहरुमा भोट हाल्ने, बोल्ने र सोलिडारिटी दिने वा प्रकट गर्ने गर्दछ । आफ्नो क्षणिक लाभको लागि समेत, भोट हाल्न गएको अधिकारीले नेपाल सरकारको निर्देशन वा आशय विपरीत समेत भोट हाल्ने गरेको देखिन्छ । त्यो बापत राष्ट्र द्रोहको सजाय हुनुपर्ने तर कुनै कारबाही समेत हुँदैन यहाँ ।
३. त्यसैले नेपाल देश विश्व शान्तिको लाइनमा उभिएको वा नेपालीहरु शान्तिकामी हुन् भनेर अहिलेको विश्वले चिन्दैन । जान्दैन र त्यो बुझ्दैन । विश्वले हेर्ने, जाँच्ने र परख गर्ने आधार पनि माथिको दुई नम्बर बुदा हो अहिले । कसैले व्यक्तिगत रूपमा “म शान्तिको पक्षमा छु” भन्न सक्छ । त्यो अनुसारको व्यवहार पनि ।
तर त्यो कुरा अन्य देश समुह वा संघ संगठनले जान्ने बुझ्ने कुनै बिसेस आधार हुँदैनन् । त्यो सम्भव पनि हुँदैन । त्यो प्रकारको परख गर्ने पनि गरिँदैन । कसैले गर्दैनन् । न तपाईंले गर्नु हुन्छ न अर्कोले गरोस ।
४. जहाँसम्म नेपाली सेना विश्वको विभिन्न ठाउँहरूमा जाने गरेको छ, माथि सुरुमै उल्लेख गरिए अनुसार एक नम्बरमा टेकेर जाने गरेको छैन आज भोलि । सुरुमा त्यही आधारमा टेकेर जाने गरेका थिए । त्यही भएर नै संयुक्त राष्ट्रसंघले लिने गरेको थियो वा पठाउने गरेको थियो । देशको नीति अनुसार उनीहरू शान्ति मिसनमा जान्थे । र विश्वका विभिन्न देशहरू देखि विद्रोहीहरुले पनि त्यही अनुसार चिन्थे ।
तर अहिले पुरै अमेरिकनहरुको निगाहमा मात्र जाने गरेको हो । यसमा अमेरिकनहरुको सहयोग र समर्थनमा मात्र सम्भव भएको छ । यसको पछाडि थुप्रै कारणहरू छन् । यदि अमेरिकाले चाह्यो भने जुसुकै दिन रोकिदिन सक्छ । यसमा कुनै शंका छैन ।
अमेरिकन निगाहमा विश्वका विभिन्न ठाउँहरूमा पुग्ने नेपाली सेनालाई त्यहाँका विद्रोही समूहहरुले कुन रूपमा बुझ्छन् होला ? जब कि असंलग्न परराष्ट्र नीति नेपालले त्यागी सक्यो । नेपाल भन्ने देश निष्पक्ष रुपमा बीचमा उभिने देश हो भनेर कसैले पढ्दैनन्, बुझ्दैनन् र जान्दैनन् आज भोलि ।
५. त्यसैले भ्रमबाट मुक्त बनौ, अव नेपाल देश र नेपाली विश्व शान्तिको सन्देश बाड्ने देश र जनता शान्तिका प्रतीक रहेनन् । त्यसैले विद्रोही समूहहरुले नेपाली युवाहरु भेटायो भने अपहरण पछि पनि मार्ने गरेको देखिन्छ ।
यसैको परिणाम इराक, अफगानिस्तान र इजरायलमा नेपाली युवाहरुको हत्या भयो । नेपालको यो प्रकारको नयाँ नीति राम्रो हो वा होइन आफै विचार र मनन गरौं ।
६. विद्रोहीलाई धारे हात लगाएर केही हुँदैन, समस्या नेपाल भित्र नै छ । घर भित्र यो प्रकारको समस्या कसले ल्याइदियो ? इराक, अफगानिस्तान वा प्यालेस्टाइनका विद्रोहीहरुले वा नेपाल सरकार आफैले ?
७. पचास लाखौं युवाहरुलाई विदेशमा कुल्ली काम गर्न पठाएर रेमिट्यान्समा मोज मस्ति गरी रहेको नेपाल सरकारले आफ्नो परराष्ट्र नीति तुरुन्त फेर्नु आवश्यक छ । त्यो अनुसारको विश्व व्यापी रूपमा एकपटक विज्ञापन समेत गर्नु पर्ने आवश्यक छ । के नेपालले त्यो गर्ला, गर्दैन । घटना घटी राख्छन् !
अस्तु ।




