हजुर भएर, हामी भएर, तिमी भएर अनी म भएर बनेको संसार प्रविधि गुन्द्रि र अणुको मान्द्रोमा
कति दिन सुकाउछौ
विक्षिप्त आफन्तको विद्रोही शरीर ?
ए युद्ध नायक भन,
आजै भन !
पहिलो र दोस्रो प्रहरको नरसंहारको नली हाडभित्रको रगत्ले तिम्रै तीनपुस्ताले धर्मसभा देख्न पाएका छैनन्
विचारको बारुदले कोरेका परिवर्तन हेर
प्रजातन्त्र को चोया र गणतन्त्रको दामचाले बेरेका निरीह डाम हेर
र तुलना गर
के जितेका छौ ?
कहिले र कहाँ नहारेका छौ ?
सक्छौ भने माटो जित्ने अभिजित् घोषणा गर
सक्छौ ?
ए युद्ध नायक हरू हो !
भन , आजै भन !
समयलाई वैधव्य बनाएर
कुन सृष्टिको सहवास खोजिरहेका छौ ?
भएका तिन करोड कम
सन्तानमा पनि
एकताको धुरी खाँबोमा आगाको ज्वाला ओछ्याएर
कुन वसुधैव कुटुम्बकम् खोजिरहेका छौ
सक्छौ भने तिम्रै अस्तित्व बचाएर हेर
ओ , युद्ध नायकहरू हो !
भन आजै भन !
धेरै भए मानवीय ओठका मुस्कान खोसिएको
धेरै भए प्रेयसीका अँगालाहरूमा मातृवात्सल्य नपोखिएको
धेरै भए ती अबोध आत्माहरूलाई विधर्मी सङ्गीनमा सुकाइएको
तर मैले खोजेको सहअस्तित्व
युद्धविचारका गान्धी हुन्
शान्तिकामी बुद्ध हुन्
चेतना र चैतन्यभित्रको
विश्व बन्धुत्व हुन्
तर तिमी के चाहन्छौ ?
ओ युद्ध नायकहरू हो !
भन, आजै भन !




