काठमाडौं । ड्राइ फ्रुट्स अर्थात् मसला मिठो नलाग्ने व्यक्तिहरु सायदै कोही होला । मसला भन्ना साथ काजु, किसमिस र पेस्ताको सम्झना आउन थाल्छ । विशेष गरी यी मसलाहरु धेरैका लागि प्रिय हुन्छ । अहिले हामी तिहार मनाइरहेका छौं । यो समयमा मसलाको छुट्टै महत्व हुन्छ ।
तिहारको भाइटीकामा पनि दाजुभाइको स्वास्थ राम्रो होस् भन्ने कामनाका साथ भाइटीका गरेपछि दाजुभाइलाई उपहार स्वरुप मसला दिइन्छ । मसला खानमा स्वादिष्ट मात्र होइन, यसको सेवनले शरीरलाई धेरै फाइदाहरु प्राप्त हुन्छ ।
तिहारको समय बजारमा धेरै किसिमका मसलाहरु उपलब्ध छन् भने तिहारका लागि भनेर मसला किन्नेहरुको भिड पनि हुने गरेको देखेका छौं । हामी स्वादका लागि त मसलाको सेवन गर्छौं नै, तर विभिन्न प्रकारका यी मसलाहरुले हाम्रो स्वास्थ्यमा के-कस्ता फाइदा हुन्छ त ?
काजु
काजु मन नपर्ने व्यक्ति सायद कमै होलान् । काजु बच्चादेखि बृद्धसम्म सबैलाई उस्तै प्रिय लाग्छ । हल्का गुलियो र नरम स्वादको काजुमा भिटामिन इ पर्याप्त मात्रामा पाइन्छ ।
विशेषज्ञहरुका अनुसार काजुमा एन्टिएजिङ तत्व पाईन्छ, जुन तपाईको स्वास्थ्यको साथै छालाको लागि पनि धेरै फाइदाजनक सिद्ध हुन्छ । काजुको सेवन गर्नाले तपाईंको छाला चम्किलो हुन्छ । तपाईको अनुहार उमेरभन्दा कम जस्तो देखिन्छ ।
किसमिस
किसमिस पनि भाइमसलामा प्रयोग हुन्छ । अंगुर सुकाएर बनाइने किसमिस निकै फाइदाजनक मानिन्छ । क्याल्सियम, फाइबर र आइरनको स्रोत मानिने किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्याउँछ । यस बाहेक एनिमिया, दाँतमा हुने क्याविटी तथा किड्नीको पत्थरी हुनबाट समेत यसले जोगाउँछ । यसमा पाइने ग्लुकोजले शरीरलाई ऊर्जा समेत प्रदान गर्छ ।
ओखर
ओखरको आकारलाई ध्यान दिएर हेर्ने हो भने यो ठीक मनुष्यको मस्तिष्कको आकार जस्तो हुन्छ । ओखरको नियमित सेवनले मस्तिष्कलाई फाइदा पुग्छ । यसको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेज चल्छ ।
बदाम
भाइ मसलामा राखिने बदाम पनि निकै स्वास्थ्यवर्द्धक मानिन्छ । बदाम प्रोटिनको स्रोत पनि मानिन्छ । यसको सेवनले शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा निकै सहयोग पुग्छ । बदामको नियमित प्रयोग गर्नाले सुगर रोगीहरुलाई निकै फाइदा पुग्छ । खानापछि बढ्ने सुगरको मात्रा यसको प्रयोगले कमी आउँछ । मुटुरोग रोकथाममा पनि यसले सघाउ पुर्याउँछ । स्मरण शक्ति बढाउनुका साथै बदामले मष्तिष्कको विकासमा समेत टेवा पुर्याउँछ ।
पेस्ता
पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ । यसमा म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन बी जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । पेस्ताले शरीरको कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईको रक्षा गर्छ ।
नरिवल
भाइ मसलामा नरिवलको अनिवार्य प्रयोग गरिन्छ । नरिवल स्वास्थयका दृष्टिले अत्ति उपयोगी फल हो । खाना नपच्ने, पिसाप सम्बन्धी रोग, रक्त विकार लगायत समस्याका लागि यो उपयुक्त मानिन्छ । नरिवलमा भिटामिन ए, बी, सीका साथै क्याल्सियम, प्रोटिन र फलाम पाइन्छ ।
छोकडा
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायत तत्वहरु प्रचुर मात्रामा पाइन्छ । दैनिक ५ वटा छोकडा खाँदा शरीरका लागि अचुक फाइदा हुने चिकित्सकहरु बताउँछन् । छोकडाको प्रयोगले स्वास्थ्य तथा सुन्दर बन्न सहयोग पुग्छ ।
छोकडाको नियमित सेवनले पेट सम्बन्धी समस्या कम हुन्छ । छोकडा दूधसँग खाएमा यौन दुर्वलता कम हुन्छ । दमका रोगीलाई पनि यो निकै उपयुक्त हुन्छ, शरीरमा रगतको मात्रा बढाउँछ । त्यस्तै, यसको सेवनले थकान कम हुन्छ । शरीरलाई निकै फाइदा पुग्छ ।
मखना
मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन् । मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ । राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।
यसरी भिन्दा भिन्दै प्रकारका मसला खानाले हाम्रो शरीरमा विभिन्न प्रकारको फाइदाहरु प्राप्त हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै मसला सेवन गर्नु स्वस्थ्यकर हुन्छ । यदि तपाईंलाई ब्लड प्रेसर अथवा अन्य कुनै स्वास्थ समस्या छ भने यसको सेवन डाक्टरको सल्लाह बमोजिम गर्नुपर्छ ।






