एकनास
अनन्त
अविरल
यात्रा गरिरहेछ जीवन
मोहको जालभित्र
जेलिदै, बेरिदै, कसिदै
बिर्सेर मृत्युको सत्य
कुनै साँघुरा त कुनै फराकिला सडक
गूढि रहेछन्, चिप्लिरहेछन्,
कुदिरहेछन्, अनगिन्ती बाहन
भोक र भोगको चाहना मेटाउन
दुगुरी रहेछन्
हजारौँ आत्माहरू,
हजारौॅ मानवजाति छायाँहरू
एकमुठी स्वास
र एउटा माटो र पानीको
शरीर बोकेर
एकदिन
जाँदै थियो एक सङ्घर्षमय जीवन
कुनै एक अघोषित परिकल्पना तोकेर
त्यही सडकको छेउबाट
आफ्नै धुनमा
अचानक
एउटा धक्का
आँखा अघि अध्यारो
जब होस आयो
कसैले बोलायो
‘तपाईँ ठिकै त हुनुहुन्छ ?’
मानवताको महँगो बजारमा
सहमर्मिताको एक अनमोल वाक्य ।
हज्जारौँ प्रश्नहरू उब्जिए मनमा
सुख-दुखका अनेकौँ पलहरू
उत्रिए सम्झनाका तरेलिमा
र पनि
ऊ उठ्यो
हेर्यो आफ्नो चोटै चोटले भरिएको
घाइते शरीर
पुछ्यो रगतका टाटाहरू
बाध्यो पट्टी
फेरि हिँड्यो
एक दुई तिन
टकटक पाइला
अनि
फेरि तयार भयो
जीवन युद्धको मैदानमा
हाम फाल्न
झण्डालाई झण्डै
मृत्युको नजिक पुगेर
फर्किएको मान्छे ।
जीवन लड्नैको लागि हो
चुनौतीको सामना हो
एउटा भित्तामा लेखेका केहि शब्दहरू
टलक्क टल्किए आँखाका पर्दाहरूमा…




