काठमाडौं । युक्रेनविरुद्धको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका कैलालीका भरत शाहको मृत्यु भएको छ । युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका टीकापुर नगरपालिका १ का ३६ वर्षीय शाहको उपचार अभावमा गत नोभेम्बर २० मृत्यु भएको हो ।
भरतका कञ्चनपुरका साथी रोशन थापाले युद्ध स्थलबाट उपचार अभावमा भरतको मृत्यु भएको जानकारी परिवारलाई दिएका हुन् । कुसको शव बनाएर आइतबार हिन्दु परम्परा अनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ ।
उनको मृत्यु बारे नेपालस्थित परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिक जानकारी भने परिवारलाई दिइसकेको छैन । टीकापुर नगरपालिका १ दुर्गानगर स्थानीय बसोबास भएका उनी यसअघि दुबईको रोयल गार्डमा कार्यरत थिए ।
थापाले परिवारलाई दिएको जानकारी अनुसार शाहको मृत्यु गत नोभेम्बर २० तारिखमा भएको हो । यस बारे उनका साथी रोशनले शुक्रबार मात्रै परिवारलाई जानकारी दिएका हुन् । भिडन्तका क्रममा गोली लागेर घाइते शाहलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको हो ।
दुबईको रोयल गार्डको जागिर छाडेर शाह तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । उनी रुसी सेनामा भर्ना भएको जानकारी भने परिवारलाई पनि थियो ।






