हिजोआज विश्वमान चित्रमा खोज्दैछु
देशको पाण्डुलिपि ।
खोजिरहेछु
त्यो देश नेपालको
रंग,
हिजोआज हराए
झै भएको छ,
धमिलो झै भएको छ ।
भनिन्छ थपिएको छ,
एक चुच्चो,
देख्नलाई
चुच्चे नक्सा,
तर
खोई माटो,
कँहा छ भूगोल,
को हुन् बासिन्दा ।
एकचोटि ठानेँ,
त्यो थपिएको चुच्चो,
टिस्टा भएको भए !
त्यो काङ्गगडा थपिएको भए !
फेरि देखिने थियो
मेरो देश
जस्ताको त्यस्तै
रंगिन ।
हिजोआज देशको
पाण्डुलिपि हराउनु मात्र कहाँ हो र ?
स्मृति पनि हराएको छ ।
हटिसके देश विकासका विषयहरू,
भत्किसके अलिअलि
भएका संरचनाहरू,
बिर्सिसके नेपालका
बिम्ब र प्रतिकहरू,
परिवर्तन हुँदैछ देश,
गरिवहरू बस्ने देशमा,
नेताहरूमात्र बस्ने देशमा,
भ्रष्टाचारिहरू बस्ने देशमा,
सून तस्करहरू बस्ने देशमा ।
हिजो,
के थिएन
यो देशमा ?
बुद्ध यहि जन्मे,
सिता यहि हुर्के
हिमाल यहि हाँस्थ्यो,
हरेक नेपालीको हाँसो बनेर,
अनि,
तराई यहि झूल्थ्यो,
हरेक नेपाली भोक मेटेर,
तर,
आज, हिमालको उचाइ
तराईले जान्दैन
तराईको हासो
पहाडले सुन्दैन
पहाडको धैर्यता
न हिमाल देख्छ
न त तराई ।
यो,
वैश्विक संकट कि देशको आर्तनाद ?
सोमालियाको दुर्भिक्ष कि सुडानको भोक ?
गाजापट्टी र वेस्टब्याङ्कका नसुकेको घाउ
कुन बाँदरले कोट्ट्याइदिन्छ,
एउटै धर्मले किन एक पार्न सकेन
यो शान्त देशलाई ?
रुस र यूक्रेन युद्ध लड्दा
किन बढ्छ यँहा
खाद्यान्नको मूल्य,
ओपेकले दर घटाउँदा किन बढ्छ
यहाँ तेलको भाउ,
कोरोनाको खोप विदेश पुग्दा
किन लाइनमा रुन्छ मेरो गाउँ ।
मेरो देशमा फुलको कथा थियो
कि हुलका आँसु,
किसान हाँस्थ्यो खित्तिती कि
खेत रुन्थ्यो धुरुरु
कल्पनाको उडान र मनको गहिराइमा
अल्मलिन्थ्यो कि प्रेयसीका
बाहुपाशमा रुमलिन्थ्यो ?
कस्तो थियो मेरो देशको अनुहार
निरोको सारङ्गी जस्तो कि
कटुवालको, गाइनेको ?
पूर्वको सालिन संस्कार
जस्तो कि,
पश्चिमको उशृङखल जस्तो ?
कुन धारा र नारा बोकेर हिँड्थ्यो मेरो देश ?
”नारा लाउनु हुँदैन देशमा” भन्ने
नारा आत्मसात गरेको थियो कि थिएन,
सबै बिर्सिसकेँ देशका कुराहरू ।
आज देश मात्र
कवितामा देखिन्छ ,
कथामा लेखिन्छ,
के उद्देश्य र केको हुटहुटीले
जन्मिन्छन कविता ?
कविता न त कुनै पेसा
न कुनै अम्मल,
देशको बुइ चढेर म
समाजदेखि माथि हुन्थेँ,
अनि देशलाई काँध हालेर
समाजलाई माथि लान्थेँ ?
खै के हुनुपर्ने थियो
मेरो देश प्रतिको जिम्मेवारी ।
सोचौ त,
देशले हामीलाई
धेरै दिएको छ,
तर हामीले देशलाई
के दिन सक्यौ ?
अनि म धुइँपत्ताल गरिरहेछु
त्यो देशको खोजीमा
एक एक डस्टबिन चहारिरहेको छु
अत्याधुनिक सामग्रीको ठेलमठेल छ घरभित्र
धेरै पुराना सामानहरू मिल्काइसकेको छु ।
बा जान्दैन समाज,
डयाडि मात्र जान्दछ,
आमा मम: बनेकि छिन
आमाको मूख हेर्ने दिन
थाहा छैन,
भ्यालेन्टाइन डे कण्ठ छ ।
‘आदर्श पाठ’ को पुरानो पुस्तक
छोराले मिल्काईसक्यो ।
नीतिशिक्षाको पुस्तक
नातीले फ्याँकिदियो ।
छोरीलाई मन परेन कुनै इजम,
उनि यूरोपको
बाटो खोज्दै छिन्,
छोराले पाएन कुनै इलम,
ऊ अमेरिकाको भिषा
कुर्दैछ,
कुनै गणितले देशको
भूगोललाई खण्डिकरण गर्छ,
कुन गणितले देशका
सक्षम नागरिक सबै
अर्को देशमा प्रतिस्थापन गर्छ,
किन विज्ञानको रसायनले
जोड्न सक्दैन हरेक नेपालीको मन ।
त्यस्तै कुनै झ्वाँकमा सायद
देशको पाण्डुलिपि पनि
मिल्काइयो कि उत्तर
आधुनिक डस्टबिनमा !
डस्टबिनमा म देशको रङ
खोजिरहेको छु
भविष्यका ताराहरू
डस्टबिनमा’
डस्टबिनमा छ जैविक
विविधताको ठुलो संसार,
कतै मेरो देशको रंग पनि
त्यतै हराएको पो छ कि ?




