बीबीसी । अतिप्रशोधित खानेकुरा मुटु रोग, क्यान्सर, एङ्जाइटीलगायत ३० भन्दा बढी स्वास्थ्य समस्याहरूसँग जोडिएको छ । अमेरिका र यूकेमा औसत खान्कीको ५० प्रतिशतभन्दा बढी प्रशोधित खानेकुरा हुन्छ ।
यस्ता खानेकुराको खपत विश्वभरि नै बढ्दै गइरहेको छ । मिठाइ, पेय पदार्थ र ‘चिकन नगेट्स’ त्यसकै उदाहरण हुन् । त्यसमा पाउरोटी, कर्नफ्लेक्स जस्ता ब्रेकफास्ट सिरियलहरू र दहीहरू पनि पर्छन् ।
अतिप्रशोधित खानेकुरा भनेको के हो ?
अतिप्रशोधित खानेकुराको कुनै एउटा मात्रै व्याख्या छैन, तर सामान्यता यी खानेकुरा हाम्रा भान्सामा सहजै पाक्दैनन् । प्रशोधित खानेकुरामा केमिकल, रङ्ग, गुलियो पदार्थ मिसाइएको हुन्छ ताकि खानेकुरा राम्रो देखियोस् र स्वादिलो होस् ।
अतिप्रशोधित खानेकुरा प्रशोधित खानेकुराभन्दा कसरी फरक ?
विभिन्न प्रकारका खानेकुराहरू चिन्नका लागि एउटा प्रणाली छ जसलाई चार भागमा बाँडिएको छ । यी चार प्रकारमा प्रशोधन नगरिएको र कम प्रशोधन गरिका खानेकुरा, प्रशोधित सामग्री, प्रशोधित खानेकुरा र अतिप्रशोधित खानेकुरा पर्छन् । प्रशोधित खानेकुरा भनेको फलफूल, तरकारी, बदामका विभिन्न प्रकार, अन्डा र भान्सामा भएका प्रशोधित सामग्रीहरूको संयोजन हो ।
उदाहरणका लागि, गहुँको पिठो, पानी, नुन र इस्ट भन्ने तत्त्व राखेर बनाइएको पाउरोटी प्रशोधित खानेकुरा हो । यद्यपि त्यसमा रङ्ग, छिट्टै बिग्रन नदिने पदार्थलगायत विभिन्न रासायनिक पदार्थहरू मिसाइएको छ भने त्यो पाउरोटी अतिप्रशोधित खानेकुरा हो ।
अतिप्रशोधित खानेकुरा भनेर कसरी थाहा पाउने ?
स्पेनस्थित नभारा विश्वविद्यालयकी जनस्वास्थ्य विज्ञ प्राध्यापक माइरा बेस-रास्ट्रोलोका अनुसार कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्रीहरू मिसाइएको छ भने त्यो अतिप्रशोधित खानेकुरा हो । अतिप्रशोधित खानेकुरामा धेरैजसो धेरै नुन, धेरै चिनी र ‘स्याचुरेटेड फ्याट’ हुन्छ । यूके र अन्य केही देशहरूमा यी कुराहरूको मात्रा प्याकेटमा उल्लेख गरिएको हुन्छ ।
प्याकिङमा “ताजा खानेकुरा” लेखिएको हुन सक्छ तर लामो समय नबिग्रियोस् भनेर ‘प्रिजर्भेटिभ’हरू हालिएको हुन्छ । खानेकुरामा सोडियम बेन्जोएट, नाइट्रेट र सल्फाइट, बीएचए र बीएचटी लगायत के के सामग्री राखिएको छ भनेर लेबलमा हेर्ने गर्नुहोस् ।
अतिप्रशोधित खानेकुरा कसरी विश्वभरि फैलिएको छ ?
सबैभन्दा धेरै अतिप्रशोधित खानेकुरा खानेहरू अमेरिका र यूकेका मानिसहरू हुन् । सन् २०२३ मा औसतमा अमेरिकाका वयस्कहरूले ५८ प्रतिशत क्यालोरी प्रशोधित खानेकुराबाट लिन्छन् भने ६६ प्रतिशत क्यालोरी बालबालिकाले लिन्छन् ।
यूकेमा वयस्क र बालबालिकाले प्रशोधित खानेकुराबाट त्योभन्दा एक प्रतिशत मात्रै कम क्यालोरी लिन्छन् । एसियाका दक्षिण कोरिया र जापानमा अनि दक्षिण अमेरिकाका चिले र ब्रजीलमा मानिसले लिने क्यालोरीको २० देखि ३० प्रतिशत खानेकुरा प्रशोधित हुन्छ । दक्षिण अफ्रिकामा भने त्यो ३९ प्रतिशत रहेको छ ।
अतिप्रशोधित खानेकुरा खानु खराब हो ?
अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यमा कस्तो पर्छ भन्ने कुनै निश्चित प्रमाण छैन । यद्यपि, विश्वभरिका करिब ९९ लाख मानिसबाट प्राप्त सूचनाका आधारमा गरिएको र ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले अतिप्रशोधित खानेकुराको असर यी कुराहरूमा जोडिएको देखाएको छ:
यद्यपि, खाना प्रशोधनकै कारणले बिमारी भएको हो वा ती खानेकुरामा धेरै चिल्लो पदार्थ, चिनी र नुनका कारण भएको हो भन्ने कुरा प्रमाणित हुन सकेन । अतिप्रशोधित खानेकुरा खाँदा त्यसले वजन बढाउने, टाइप २ डाइबिटिज हुने, मुटु रोग लाग्ने र केही क्यान्सरसमेत हुने भनिन्छ ।
मोटोपना
“अतिप्रशोधित खानेकुरा खाँदा हुने पहिलो कुरा भनेको वजन बढ्नु हो,” पोषण बारे लेखेका युनिभर्सिटी कलेज लन्डनका इम्युनोलोजिस्ट क्रिश भान टुलेकेनले भने । “यी खानेकुरामा पहिला नै फ्याट, चिनी र नुन धेरै हुन्छ । तर त्यसलाई आकर्षक देखाउन र मिठो बनाउनका लागि रङ र बास्ना पनि मिसाइएको हुन्छ जसका कारण मानिसले धेरै खान्छन् ।”
इम्पेरियल कलेज लन्डनको एउटा अध्ययनले विश्वभरिका एक अर्बभन्दा बढी मानिस अर्थात् ८ मध्ये एक जनामा अहिले नै मोटोपना रहेको देखाएको छ । सन् १९९२ र सन् २०२२ बीचमा मोटोपना दर वयस्क महिलामा दोबरभन्दा बढी, वयस्क पुरुषमा झन्डै तीन गुणा बढी र बालबालिका र किशोर किशोरीमा पाँच गुणा बढी देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क र ग्लोबल हेल्थ अब्जर्भेटरीको सन् २०१६ को तथ्याङ्कले अमेरिकाका २८ प्रतिशतभन्दा बढी वयस्कमा, युरोपका २६ प्रतिशतमा, पूर्वी भूमध्यसागरीय क्षेत्रमा १९ प्रतिशतमा र अफ्रिकाका ९ प्रतिशतमा मोटोपना देखिएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष २ अर्ब ८० करोड मानिसको बढी वजन वा मोटोपनाका कारण मृत्यु हुने गरेको छ । “विश्वका धेरै देशमा अतिप्रशोधित खाना सहजै पाइन्छ र त्यो बजारमा पाइने अन्य परम्परागत खानेकुराभन्दा सस्तो पनि छ,” युनिसेफकी पोषणविद् डाक्टर क्लेयर जनसनले भनिन् ।
मधुमेह
इन्टरन्याशनल डाइबिटिज फेडेरेसनका अनुसार अहिले विश्वभरि नै धेरै मानिसलाई टाइप २ डाइबिटिज अर्थात् खानपानका कारण लाग्ने मधुमेह छ । “अतिप्रशोधित खानेकुरामा हुने चिनी, नुन र चिल्लो पदार्थ सबैले नै टाइप २ डाइबिटिज गराउने खतरा बढाउँछन्- त्यस्तै यी खानेकुरामा क्यालोरी धेरै तर पोषण कम हुन्छ,” युनिभर्सिटी अफ हेलसिन्कीस्थित जनस्वास्थ्यका प्राध्यापक जाक्को टौमिलेटोले भने ।
मध्यपूर्व र उत्तर अमेरिकामा टाइप २ डाइबिटिज देखिएका मानिसहरूको धेरै वृद्धि भएको छ । “यीमध्ये धेरै देशले खानेकुरा आफैँ उत्पादन गर्दैनन्,” प्राध्यापक टौमिलेटोले भने । “अतिप्रशोधित खानेकुरालाई भण्डारण गर्न र ढुवानी गर्न सजिलो हुन्छ । त्यसैले खाद्य कम्पनीहरूले धेरैजसो त्यही पठाउँछन् ।”
कुपोषण
अतिप्रशोधित खानेकुराले धेरैजसो अफ्रिकी सब सहारा देशहरूमा कुपोषण देखा परेको जोनसन बताउँछिन् । “अतिप्रशोधित खानेकुरामा परम्परागत खानेकुरामा जस्तो आइरन, मिनरल र भिटामिनजस्ता पोषक तत्त्वहरू पाइँदैन,” उनले भनिन् । यद्यपि, अमेरिकास्थित पर्ड्यू विश्वविद्यालयका वैज्ञानिकहरूले अतिप्रशोधित खानेकुरामा केही फाइदा हुन सक्ने बताएका छन् । ती फाइदामा:
भिटामिन ई र क्याल्सियमजस्ता पोषक तत्त्व
कम आय भएका मानिसलाई ताजा खानेकुराभन्दा अतिप्रशोधित खानेकुरा किन्न सस्तो पर्छ
खानेकुरा कम फ्याँकिन्छन्
ब्रिटिश न्युट्रिशन फाउन्डेसन जसले खानेकुरा बनाउने कम्पनीसँग काम गर्छ र दान लिन्छ उसले सबै अतिप्रशोधित खानेकुराहरू समान नभएको बताउँछन् । “होलग्रेन (अन्नबाट कुनै तत्त्व नफ्याँकिकने बनाइएको) सिरियल, ‘होलमिल ब्रेड’ र ‘लो-फ्याट योगर्ट’ (चिल्लो तत्त्व कम गरिएको दही) जस्ता खानेकुरामा कम चिनी, नुन र फ्याट हुन्छ र त्यो पनि अतिप्रशोधित खानेकुरामा वर्गीकृत छ,” विज्ञान निर्देशक सारा स्ट्यानर भन्छिन् ।
अतिप्रशोधित खानेकुराविरुद्ध कस्तो कदम चाल्दै आइएको छ ?
यूके सरकारले सन् २०१८ मा चिनी मिसाइएका पेय पदार्थमा थप कर लगाएको थियो र कैयौँ उत्पादकहरूले चिनीको मात्रा घटाएका थिए । सन् २०२३ मा कोलम्बियाले चिनी भएका पेय पदार्थ र अतिप्रशोधित खानामा समयसँगै बढ्ने गरी १० प्रतिशत थप कर लगाएको थियो ।
सन् २०१६ मा चिलेले चिनी, फ्याट र धेरै क्यालोरी भएका खानेकुरामा चेतावनीको लेबल लगाएको थियो । विश्वमा धेरै मोटोपना हुने बालबालिकाको सङ्ख्या चिलेमा धेरै छन् । चिलेले चिनी, नुन र क्यालोरी धेरै हुने बालबालिकाको खानेकुराको विज्ञापन र प्रचारप्रसारमाथि पनि रोक लगाएको थियो । यद्यपि, त्यस्ता प्रतिबन्ध लगाए यताको चार वर्षमा त्यहाँ बालबालिकाको मोटोपना दर निरन्तर रूपमा बढिरहेको छ ।






