मैले हातका चक्रहरू हजारौं फरूवा, कोदालो,
काँटा र बेल्चाहरूमा छापी सकें
तर पनि मेरो श्रम भने जस्तो
मोलमा बिक्री हुँदैन,
भालेले डाक छाडेदेखि म खेत
पसिनाले भिझाउँछु
तर पनि मेरो धान र मकैले
बजारमा पसिनाको मूल्य पाउँदैन,
त्यसैले तपाइँ बिक्नु होस नेताज्यू
मेरो केही नबिके नी
तपाइँ माथि भएको मेरो भरोसा त बिक्ने छ ।
परिवारले छाती फुलाउने
मेरो छोराको पि एच डि डिग्रीले
प्रत्येक कार्यालयको भ्रमण गर्दा
मोल केवल शुन्य पाएको छ,
त्यसैले तपाइँ बिक्नु होस् नेताज्यू
प्रवेशिका पास तपाइँ,
तर रकम करोडौं पाउनु हुनेछ,
तपाइँको पुस्तालाई पुग्ने छ ।
काक्रो र फर्सीमा आशा फुल्दा रमाउन मन लाग्छ,
भमरा, पुतली, मौरीभन्दा ज्यादा कराउन मन लाग्छ,
सबजी बेच्नलाई बजार झर्छु
दाम घटाएको देख्दा बौलाउन मन लाग्छ,
त्यसैले तपाइँ बिक्नु होस् नेताज्यू
मेरो मेहेनतले नपाएको दाम
तपाइँले पाउनु हुने छ,
तपाइँको मोल अवश्य मोटो हुनेछ
किन कि हजुरले गरिबहरुको मोल चुस्नु
भएको छ, पुष्टिाउनु भएको छ,
चुनाव अघि हजुरलाई आशाको दाना
र विश्वासको खोले खुवाएको छ ।
बिक्नु होस् नेता जी, बिक्नु होस
तपाइँको बल्ल पालो आएको छ,
हजुरको सौदा भएनन् भने,
मेरो भरोसा, आशा, र विश्वासमा पोतो लाग्ने छ,
नेताको मोल घटने छ, सत्ताको हाँसो हुनेछ ।




