कति हो यो देशको लम्बाई ?
कति हो क्षेत्रफल ?
थाहा पाउनुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
तपाईंको आमासयको क्षेत्रफल कति हो ?
तपाईंको भोको आन्द्राको लम्बाई कति हो ?
के तपाईंलाई
तपाईंको आमासयको क्षेत्रफल भन्दा ठुलो
यो देशको क्षेत्रफल हो भन्ने लाग्छ ?
के तपाईंलाई
तपाईंको आन्द्राको लम्बाई भन्दा लामो
यो देशको लम्बाई हो भन्ने लाग्छ ?
के तपाईंलाई
तपाईंको पेटले अघाउन्जेल खाएको कुनै छाक याद छ ?
के तपाईंलाई
तपाईंको आन्द्रा भरिएर तन्किएको कुनै दिन सम्झना छ ?
तपाईं आफ्नो पेट खोक्रो राखेर
कसरी नाप्नु सक्नुहुन्छ यो देशको क्षेत्रफल ?
तपाईं आफ्नो आन्द्रा चाउरि पारेर
कसरी नाप्नु हुन्छ यो देशको लम्बाई ?
तपाईंको एकटुक्रो जमिनको लम्बाई नाप्न
हरेक बिहान
मिटर बोकेर आइपुग्छन् साहुको ताँती
तपाईंको छाप्रोको क्षेत्रफल नाप्न
भर्खरै मिटर भिरेर आइपुगेको छ सुदखोरहरु ।
लिलामीमा परेको छ तपाईंको जमिन
बन्दकीमा बसेको छ तपाईंको छाप्रो
तपाईं सबैतिरबाट मिटरको फित्तामा बेरिनुभएको छ ।
नाप्दै जाने हो भने देश
तन्काउँदै जानेको हो भने तपाईंको आँसुको मिटर
पोत्दै जाने हो भने
तपाईंको रगतले
हजार फन्को
नाप्न सकिन्थ्यो देश
हजार पटक
पोत्न सकिन्थ्यो देश
तपाईंको आँसुमाथि
ब्यापार थाप्छ
तपाईंको रगतमाथि
मट्टीतेल खन्याउँछ
तपाईंको पसिनामाथि
तेजाब घोल्छ
तपाईंको सपनाको जाँघ च्यातेर घोप्टिएको छ
खोई कहाँ छ देश ?
तपाईं देश खोज्दै
सिंहदरबारको ढोकासम्म पुग्नुभो
तपाईं देश चाहियो भन्दै
माइतीघरको सडकमा धर्ना लगाइराख्नु भएको छ
तपाईं जोड जोडले चिच्याई राख्नुभएको छ-
“देश आउ र हाम्रो दु:खको मिटर छिनाली देऊ ”
खै कहाँ आयो देश ?
राइफलको कुन्दा आयो
निरंकुश बुट आयो
हिंस्रक लाठि आयो
पानीको निस्सासिँदो
फोहोरा आयो
रबरको गोली आयो
प्रजातन्त्र आयो
गणतन्त्र आयो
जनताको सत्ता आयो
देश आएन
तपाईं हामीले
खोजिरहेको देश
सुदखोरहरुको मिटरमा
बेरिएर
सधै लम्पसार
पारिरहेको छ
तपाईंले डाक्नुभएको
देश
तस्करहरुको मिटरमा
झुन्डिएर
सधै घोप्टिरहेकोको छ
हाम्रो देशले
सत्ताको पासोमा
झुन्डिएर
पटक पटक
आत्माहत्या गरिसकेको छ
हामी अब
देश नखोजौ
बरूअब आफ्नै
देश उभ्याउ
सबैभन्दा
शक्तिशाली बन्दुक
देशको भोक हो
हामीसँग
दुनियाँका कुनै मिटरले
नाप्न नसकेको
देशको भोक छ ।




