म यो देशको एक सामान्य नागरिक हुँ । म धेरै ठूला ठूला कुराहरू बुझ्दिनँ र गर्न पनि जान्दिन । म एक युवा हुँ जो नेपालमै रहेर केहि गर्न चाहन्छ । म संघर्ष गर्दा गर्दै यहि धरतीमा विलय हुन चाहन्छु । मेरो कुनै ठूलो सपना छैन । हाफ पाइन्ट लगाएर डिड्ने म आज एक सरो लुगा महिनौं लगाउँदा पनि दंग छु ।
चाहना पनि कुनै ठूलो छैन, केवल दुई छाक खाना र आफू वरीपरी भएका सबैलाई खुसी दिन सकु । तर, यसो भनि रहँदा अवस्था सम्झँदा म आफै घुडा टेक्न बाध्य हुन्छु कि भन्ने डरले सताउँछ ।
कहिले काहीँ साथीहरू विदेश गइ रहेको देख्दा मन पोल्छ । साथीहरू विदेश गएर घर, गाडी किनेको देख्दा खुसी हुन्छु तर म आफूले आफैलाई धिक्कार छु पनि । सायद म अरुको प्रगति देखेर जलिरहेको छु ।
म त आज पनि त्यहि सरकारले तोकेको न्युनतम तलबमै दिन विताइरहेको छु । तलब आएको दिन मक्ख पर्छु, महिना सकिने बेला गोजी खाली हुन्छ, बचत गर्ने कुरा त सपनामा मात्र हो कि भन्ने नि लाग्छ ।
मैले दु:ख साथ भन्नुपर्छ मलाई सरकारले तोकेको न्युनतम तलबले पुग्दैन अनि किन बस्नु म मेरो देश ! मेरो पसिनाको सहि मूल्य दिन नसक्ने मेरो देशमा म मेरो र मेरो बाआमाको सपनाको लागि पनि प्रदेशको बाटो रोज्नु आवश्यक बनेको छ । तपाई आफै भन्नुहोस् न, म किन बसु मेरो देश ! जब हरेक दिन आफ्ना इच्छा, आकांक्षाहरुलाई बलिदान दिनुपर्छ ।
यसो भनिरहँदा राष्ट्रवाद र देशभक्तिको कुरा पनि आउँछ । यद्यपि, तिनीहरूको दायरा फरक छ । एक देशभक्तलाई आफ्नो देशको उपलब्धिमा गर्व लाग्छ जबकी एक राष्ट्रवादीलाई आफ्नो देशको गर्व हुन्छ ।
सरल शब्दमा, एक देशभक्तले आफ्नो देशलाई माया गर्छ र यसको कार्यहरूमा गर्व गर्दछ । एक राष्ट्रवादीले आफ्नो देशलाई माया गर्छ र त्यसमा गर्व गर्छ, चाहे परिस्थिती आफू अनुकुल नै किन नहोस् । राष्ट्रवादले आफ्नो राष्ट्रप्रति निष्ठा, समर्पण र गर्वको बलियो भावनालाई बुझाउँछ ।
यद्यपि देशभित्र रहेर पनि कुनै व्यक्तीमा देशभक्ति छैन भने ऊ जिउँदै मरेको समान हुन्छ । आफ्नो जन्मभूमिको सम्मान नगर्ने मानिस पशुतुल्य हुन्छ । जसरी पशुपक्षीले आफ्नो आहार जता देख्यो उतै दगुर्छ । त्यसैगरी राष्ट्रियता बिनाको मानिस जताततै दगुरी रहन्छ । त्यसैले ‘जननी जम्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको हो ।




