पत्रकारिताको उदय एकदमै सामान्य थियो । नारदमुनिलाई पत्रकारका पुर्खा मानिन्छ । महर्षि नारदले आफ्नो समयमा संसारका सबै ठाउँमा गएर समाचार संकलन र सम्प्रेषण गर्थे, ताकि सम्बन्धित व्यक्तिले आफ्नो काम तदनुसार गर्न सकून् । नारदको काममा जनहितको भावना थियो । यसैलाई हामी वास्तविक पत्रकारिता भन्नुपर्छ जसले जनताले के सोच्छन्, त्यो व्यक्त गर्दछ ।
वास्तवमा वर्तमान इतिहासको मुख्य प्रवक्ता नै पत्रिका हो र जनहितमा हुने, जनताको ध्यानाकर्षण हुने र जनहितलाई परिष्कृत गर्ने हरेक कामबाट इतिहास रचिएको हुन्छ । नेपोलियनले पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्ति गुनासोकर्ता, टिप्पणीकार, सल्लाहकार, राजाका प्रतिनिधि र राष्ट्रका शिक्षक हुन् भनेका थिए ।
पत्रकारिता समाजको ऐना हो । समाजमा कहिले, कहाँ, किन, कसरी, के भइरहेको छ ? यी प्रश्नहरूको जवाफ पत्रकारिता हो । पत्रकारिता त्यो माध्यम हो जसको माध्यमबाट हामीले आफ्नो दिमागमा संसारको बारेमा सबै जानकारीहरू संकलन गर्छौं जुन हामी आफैले कहिल्यै जान्न सक्दैनौं ।
अहिले हाम्रो समाज संचारगृहका व्यक्ती गिरफ्तार भएपछि दुई भागमा विभाजन भएको हो कि झै देखिन्छ । सत्ता पक्षले गिरफ्तारलाई कानुनी प्रकृया भनिरहँदा विपक्षी विरोधमा उत्रिरहेको छ । विपक्षमा रहेकाहरु सत्ता र शक्तिको आडमा आफ्नो कर्तुत ढाकछोप गर्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै उफ्रिरहेका छन् । उनीहरुले स्वतन्त्र सञ्चारमाध्यमले सिरोहियाको गिरफ्तारीलाई पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण भनेका छन् ।
सिरोहिया पक्राउ परेको घटनालाई लिएर काठमाडौंबाट प्रकाशित अधिकांश पत्रिकाहरुका साथै पत्रकार महासंघले पनि विज्ञप्ती निकालेरै विरोध गरेको छ । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको समाचार दबाउन कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको समाचार प्रकाशन गरेका छन् । तथ्य डग्दैन कलम झुक्दैन भन्दै सञ्चारमाध्यमले यो गिरफ्तारीले स्वतन्त्र प्रेस विचलित नहुने चेतावनी समेत दिएका छन् ।
यस सम्बन्धमा हामीले के बुझ्नु जरुरी छ भने नागरिकता र पासपोर्टको छानविन सिरोहियाको गरौँ, प्रश्न उठेका सबै राजनीतिक पात्रको पनि गरौँ, तर छानविन गर्ने नाममा धरपकड कसैले कसैलाई नगरौं ! भोलि सत्तामा अर्को आउँदा फेरी बदला लिएर अहिले सत्ताधारीलाई यसै गर्ने नजिर बस्न सक्छ, जुन गलत हुनेछ ।
अदालतले पक्कै पनि सिरोहियाको नागरिकता बारे अन्तिम निर्णय ढिलो/चाँडो दिनेछ । दोषी भए कारबाही भोग्लान्, निर्दोष भए सफाइ पाउलान् । सफाइ पाए प्रतिशोधको शिकार भएँ भनेर क्षतिपूर्ति दाबी गर्दै फेरि अदालत जाने बाटो उनीसँग सुरक्षित नै छ ।
अर्को कुरा सिरोहिया प्रकरणले देशमा अधिनायकवाद लागु भयो, प्रेस स्वतन्त्रता खोसियो र समाचार लेखे बापत भयो भनिरहँदा हिजो त्यहि मिडियाका दर्जनौं पत्रकारहरुले तलब सुविधा र हक पाउँ भनेर कालो ब्यानर बोकेर धर्ना दिँदा चुइक्क नबोल्ने पत्रकार महासंघ मालिक पक्राउ पर्दा छिन भरमै विज्ञप्ती निकाल्नुलाई गुलामी तत्र भन्नु बाहेक अरु केहि भन्न सुहाउँछ होला र ? महासंघले पत्रकारको संरक्षण गर्ने हो कि मालिकको पुच्छर समाउँदै कुद्ने हो ?
पत्रकारिता भनेको त सामाजिक जीवनको साँचो-झुटो, दृश्य-अदृश्य र असल-खराब छविको दर्पण हो । पत्रकारिताले समाजमा फैलिएका कुरीति, अन्धविश्वास, रुढी आदिका विरुद्ध लड्ने र समाजबाट ती कुरीतिलाई हटाउने प्रयास गर्नुपर्छ ।
यति भनिरहँदा हामीले पत्रकार भनेर चिनेकामध्ये कतिपय व्यक्तीहरु राजनीतिक दलमा दशकौंदेखि सक्रिय वा संगठित कार्यकर्ताका रुपमा रहेका छन् । उनीहरू ‘पत्रकारिताका माध्यमबाट विगत यति वर्षदेखि फलानो पार्टीलाई सेवा गरेको, पार्टीको पक्षमा जनमत सिर्जना गरेको’ भन्दै आफ्नो प्रचार प्रसार गरिरहेका हुन्छन् जुन अत्यन्त गलत विषय हो ।
यहाँ यस्ता पत्रकार पनि छन् जो पुरस्कार, सम्मान र खादाले पुरिएर पनि सम्बद्ध संस्थाको आलोचनात्मक टिप्पणी लेख्न सक्दैनन् । केहि संस्था गैरकानूनी गतिविधिमा संलग्न छन्, ती आफूलाई समाजसेवी देखाउन सञ्चार माध्यमलाई प्रयोग गरिरहेका छन् । पत्रकारहरु पनि रकम, सम्मान र उपहारको लोभमा पछि लागिरहेका छन् । के यहि हो त स्वतन्त्र भनिएको पत्रकारिता ?
अब फेरि कुरा गरौं कैलाश सिरोहिया पक्राउ घटनाकै विषयमा । उनलाई पक्राउ गरिएपछि कतिपयको प्रश्न छ- ‘नागरिकता विवादमा सिरोहियालाई पक्राउ नै गरिहाल्नुपर्ने थियो र ? प्रमाण नष्ट गर्न सक्ने ठाउँमा नभएका उनलाई हतार हतार किन समातियो ? कतै गृहमन्त्रीले आफूविरुद्ध कान्तिपुरमा लगातार आएका समाचारको प्रतिशोध त साँधेनन् ?’ पक्षधरता अनुसार यी प्रश्नको जवाफ हो वा होइनमा मात्र सीमित छैन, व्याख्यात्मक टिप्पणीमा समेत आइरहेकै छन् ।
यस्तै केहि व्यक्ती भन्दैछन्- ‘सेलिब्रेटीलाई बलात्कार गर्ने छुट छ, भगवानहरूलाई जनता लुट्न पाउने अधिकार छ, मिडिया सञ्चालकलाई दुई थरी नागरिकता बोक्ने प्रशस्त हक छ । मुख्य कुरा त त्यस्तालाई जोगाउन भक्तहरूले सामाजिक सञ्जाल फोहोर गर्न पाउने त छुटै छुट छ । हामी त रमिते न परेऊँ ।’
यसैगरी एक संचारकर्मी भन्छन्- ‘हिजो कान्तिपुरकर्मीले तलब नपाउँदा त्यो उनीहरूको विषय हो भन्दै अरू पत्रिका बोलेनन् । हिजो सीधा कुरा डटकमले एउटा नांगिएको अवस्थालाई थप नंग्याउँदा राज्य र अदालत नै प्रेस स्वतन्त्रतामाथि झम्टिए, तर यी पत्रिकाका साहु र मालिकले देखेनन् । आज सिरोहियालाई केवल अनुसन्धान गर्न खोज्दा पत्रकार नाम गरेका दासहरू प्रेस स्वतन्त्रता खोजिरहेका छन् । भोलि बलात्कारको मुद्दामा मिडिया सञ्चालक र सम्पादक पक्राउ पर्दा पनि यिनीहरूले प्रेस स्वतन्त्रता नखोज्लान् भन्न सकिन्न । ए औतारी हो, सिरोहियालाई नागरिकताको केसमा समातिएको हो । गल्ती नभएको भए कसले के गर्न सक्थ्यो र ?’
यस्तै केहि व्यक्ती सिरोहिया घटनाका विषयलाई प्रचण्डको प्लान समेत भन्न भ्याएका छन् । एक संचारकर्मी भन्छन्- ‘प्लान यस्तो पनि हुन सक्छ प्रचण्डको । कैलाश सिरोहियाको केस अदालत लगेर टुंग्याउने । अब सबै प्रक्रियामा त जानुपर्यो नि भनेर रविलाई पनि पासपोर्ट केसमा प्रक्रियामा लगेर सिध्याउने । कानुन सबैलाई उही हो भनेर देखाउने । मिडियाको पनि सपोर्ट लिने । आखिर राजनीति न हो !’




