आज बाहिर एकोहोरो पानीको आवाज अनि मनभित्र त्यस्तै अर्को आवाज गुन्जिरहेको छ । आज ती पलहरु सम्झँदै कहिले रमाउँछु त कहिले निराश बनाइदिन्छ । हिजोसँगै पढ्दा सानातिना विषयमा झगडा गर्दा रमाउने म, आज जन्मदिनको शुभकामना दिँदा समेत मेरो लागि धेरै अर्थ राख्छ भन्दै प्रतिक्रिया पाउँदा मेरो मन गदगद भइदिन्छ ।
परिस्थितिले छोटो समयमै नजिक बनाइदियो, आज नभेटेको वर्षौ वित्दा पनि हिजो झै लाग्छ । आज उही अफिस र दिक्क लाग्दो कोठा, कहाली लाग्दो दिन, मेसेज आउला कि भन्दै पर्खिरहेको मोबाइल, तस्वीर हेर्न उत्साहित तर निराश आँखा, आवाज सुन्न पर्खिरहेका कान पनि थाकिसकेको आवास हुन्छ ।
कास ती दिनहरू छोटिन्थे, कास त्यो दिन छिट्टै आउँथ्यो जहाँ कथित भविष्य सुनिश्चित भएर बसिसकेको हुन्थ्यो अनि सबैसँगै रमाउन पाइन्थ्यो । तर, यी सबै यथार्थभन्दा पनि नमज्जाले कल्पनामा सिमित हुन पुगेको छ ।
म हरेक रात यसरी नै तड्पन्छु, छट्पटिन्छु तर फेरि एक पटक पाउने जिन्दगी किन म मरीमरी बाँचेकी छु भन्दै हरेक कुरा भुल्न खोज्दै रमाउँछु । म यो पीडाको आभास कसैलाई पनि हुन दिन्न । मैले यसलाई छातीभित्र लुकाउनु छ । दुनियाँका लागि मुस्कुराउनुछ । कस्ता भए होलान् साथीहरु ? भन्दै यो मन घरिघरि भेट्न खोज्छ तर कसैसँग भेटौं न भन्ने आट आउँदैन ।
एकदिनको कुरा हो, साथीले भोली भेट्नु पर्छ है भनिन् । भोलिपल्ट बिहान छटपटी मात्रै भइरह्यो । कति बेला ११ बज्ला र उनीसँग भेट होला भनेर छटपटाइरहेँ । भक्तपुरबाट गाडी चढेँ । बानेश्वर चोकमा पुगेर उसको नम्बरमा फोन लगाएँ । उनी त अघि नै आएर पर्खिरहेकी थिइन् । उनको अगाडि पुग्नुपहिले म निकै नर्भस हुन पुगे । एकले अर्काको खुट्टा तान्दै मज्जाक गर्ने साथीसँग भेट्दा पनि किन यस्तो हुन पुगे म, आफैले आफैलाई सम्झँदै छक्क पर्छु ।
उनी सामुन्ने पुग्नुअघि मनमा धेरै तर्कना आए । कस्ती भइन् होली ? पहिले भेट हुने वित्तिकै हात हालाहाल मात्र नभई मुक्का मुक्की नै पथ्र्यो तर अहिले हे भगवान् ! मेरो कस्तो परीक्षा लिँदैछौं भन्ने आवास हुँदै थियो ।
जब म उनी सामुन्ने पुगे मूर्ति जसरी उभिएँ । उनलाई देखेपछि आँखाबाट आँसुका थोपा बगे । मैले मुस्किलले रोकेँ । मैले उनलाई एकनासले हेरी रहे । केहि प्रश्नहरु थिए तर म सबै होस हराएर बेहोसी झै भए । उनले प्रश्न सोधिन्, मैले जवाफ दिइरहे । थाहा छैन हामी बीच के के कुराकानी भयो, मेरो शरिर त्यहि भएपनि म त्यहाँ थिइन् ।
उनले कफी अर्डर गरिन् । हामी मौनतासँगै कफीको प्रतिक्षामा बसिरह्यौँ । मलाई उनीसँग धेरै बोल्न मन थियो । मन भरिने गरी हेर्ने रहर थियो । तर, म कता हराउन पुगे आफूले आफैलाई सम्झँदा पनि छक्क पर्छु ।
म अरु सामान्य मानिसभन्दा अलि बेग्लै स्वभाव भएको मानिस हुँ भन्ने कुरा मलाई थाहा छ । मेरा साथीहरुलाई पनि । के गरुँ म, सच्चिन सक्ने समय र अवस्था पनि छैन मसँग । तर, ती स्मृति केवल मेरो यो स्वभावको मात्र परिणाम हो भनेर मान्न म तयार छैन । छोटो समयको मित्रतापछि आफ्नो संसारमा रमाएको छु म ।
विस्तारै मौनता टुट्दै गयो । वर्षौपछिको भेटले होला हामी फेरिएका थिर्यौ सायद । मलाई झुट बोल्न वा कुरा लुकाउन आउँदैन । मैले सबै कुरा सेयर गरे । उनले पनि सेयर गरेका कुरा बनावटी हुन भनेर मैले कतै पनि कल्पना गरेको छैन ।
उनको संघर्ष गर्ने शैली र आत्मविश्वास सम्झिँदा म आज पनि गर्भको महसुस गर्छु । र, आज देख्दा पनि त्यही छनक पाँए । म अत्यन्त प्रभावित र खुसी भए । विगतको उनी र अहिले देखेको उनी बीच मैले कुनै फरक पाइन ।
उनीसँग भेट भएकोमा मैले पटक पटक भगवानलाई धन्यवाद दिएँ । उनलाई देख्ने अवसर पाएर म आफूलाई साह्रै भाग्यमानी सम्झे । यो बीचमा मैले अनुभव गरेको खुसीको कुनै मापन र सीमा नै छैन ।
सायद अचेल उनी असाध्यै व्यस्त छिन् । समय अत्यन्त कम छ उनीसँग, जिम्मेवारी धेरै छन् । अझै अगाडि बढ्नका लागि उनलाई थप समय चाहिएको छ र यो सबै मलाई थाहा हुँदा हुँदै पनि मैले उनको समय नाश गरिदिएको छु । यो मेरो कमजोरी भयो । म बुझ्छु, सायद त्यहि भएर उनी मलाई बेवास्ता गर्छिन् । मलाई यसमा कुनै गुनासो छैन किनकि साथीलाई यतिसम्म गर्न पाउनु स्वभाविक अधिकार हो । म उनको विचार, आवेग र भावनाको सम्मान गर्छु । मलाई उनीसँग कुनै स्वार्थ वा अवसरको खोजी पक्कै छैन ।
म उनलाई कुनै पनि तरिकाले दखल वा तनाव दिने कुरा कल्पना पनि गर्दिनँ । उनको वर्तमान र भविष्य अनि सुन्दर परिवार र परिवेशलाई गर्वका साथ सम्मान र इज्जत गरिरहन्छु । दसौं वर्षसम्म उनको यादका भरमा बिताए भने अब पनि म नियमित सम्पर्क वा सामिप्यता विना थप बिसौं वर्ष बिताउन सक्ने कुरामा कुनै शंका छैन । म सक्छु । उनीसँग फेरि एक पटक भेट भयो यो नै मेरो लागी काफी छ ।
जब उनलाई अन्तिम पटक भेटे, उनको आँखामा उही माया देखेँ । उनको खुसीमा म झनै खुसी भएँ । फरक त्यति मात्र थियो कि हामी नियमित भेट हुने साथी आज समयको चक्रसँगै भेट्न पनि बाहना चाहिने बेला भएको छ । अब भेट्न भाग्यले साथ देला नदेला तर जिन्दगीको त्यो पल सम्झँदा मन गदगद भइदिन्छ । नदेखेनि सधै रमाएको खबर चाहि सुन्न पाउ है, साथी ! भन्दै विदा भए ।




