भर्खर भर्खरै हो
मैले एक अविश्वास प्रस्ताव
पारित गरेँ
र मनको कन्तुरभित्र खुत्रक्क हालेर
सुटुक्क साँचो लगाएँ ।
अविश्वास प्रस्तावको पुछारमा
दुइटा स्केन गरेका हस्ताक्षर छन् –
एउटा चाबि लागेको,
तर साचो हराएको,
सुन्दक भित्रको हिङ र
अर्को, हिङ सकिएर फालेको हिङ बाध्ने टालो ।
अझै एउटा हस्ताक्षर खाली नै छ
कस्को भराऊँ ?
हजुरको ?
ओ मेरा गणतन्त्रप्रेमी अभिन्न मित्र!
कसैलाई विश्वास गर्नेअघि
आफूलाई अविश्वास गर्न सिक्नुहोस्
आफ्ना आँखादेखि होस् गर्नुहोस्
कानहरूलाई राम्रो नियाल्नुहोस्
पुन: पुन: च्यात्नुहोस् विवेकका निर्णयहरूलाई
अनि आफ्नो मनलाई लिप्नुहोस्
कठिनभन्दा कठिन ढुङ्गाले ।
मान्नु हुन्छ ?
कुरुक्षेत्र युद्ध
श्रीकृष्णको वाणी
गीताको सार
यस्तै होस्,
अर्कै होस्,
जे नै नहोस्
मान्छेले मनभित्र बोक्नै पर्छ
अविश्वासका अनेक अध्यायहरू
अनि आत्मविश्वासलाई अमर राख्न
पिउनु पर्छ सुकरातझैँ हलाहल
अथवा ब्रुनोको झैँ सती जानुपर्छ
विज्ञानको आगोमा
जब सत्ताले टाउकोभरि बोकिहिँड्छ
अपविज्ञानका कुटिल सूत्रहरू ।
हो,
फेरि फेरि
पुन: पुन:
युग युग
पारित हुनेछन् अविश्वासका प्रस्तावहरू
जति दिन रहने छन्
शकुनिहरू
अथवा रहने छन् रोटी हत्याउने बाँदरहरू ।




