भ्रष्टाचारको बिगुल बज्दा बज्दा
कामिरहेछ मेरो देश
अनि
मेरा रिप-भन-उइङ्कलहरू
हतार हतार दगुर्छन्
यता उता
जताततै
लामो मौनता भङ्ग गर्दै
तैनाथ हुन्छन् सडकहरू
सुविशाल आकाशमा
उड्दैनन् आज चराहरू
घामले डाँडो नकाटी
गुँड पर्छन् बिचराहरू
आज यो आकाश उनीहरूको होइन
गुँडबाट हेर्छन्
वायुयानका नान्दनिक जुलुसहरू
यो कस्तो देश हो, कस्ता शासकहरू
भ्रष्टाचारले नूहाएर मेरो गाउँ-बस्तीमा
धनको मादकता फर्काउँछन्
नेता र अभिनेता एकाकार बनाउँछन्
गीतहरू पुरानै बन्दछन् रिमिक्स गरेका
कतै पुराना क्यासेटहरू
‘इजेक्ट’ र ‘रिजेक्ट’ गर्दै
‘बी साइड’का गीतहरू घन्किन्छन्
सडक-बजारमा
यसैको तालमा नाचिरहन्छ मेरो गाउँ
बारैमास भ्रष्टाचारको मौसममा
गुन्द्रुकमा जात हाल्नेका लागि
सुनौलो मौका हो यो
आफ्नो भोलिलाई बन्धकी राखेर
सेन्तेरेममा रल्लिन्छन शासकहरू
फगत एक ‘बिषपोट’ले मात्र निको पार्न सक्छ
पाँ-पाँच वर्षदेखि पाकेको
कैँटे घाउ
आश्वासनको बिस्कुन रुङ्दारुङ्दै
उमेरले डाँडो काट्छ
हाम्रा गाउँका साइली-माइलीलाई
जब होस् आउँछ
हिजोसम्म बाटा बाटा डुक्री हिँड्ने गाउँको साँढे
भाङका लड्डु खाएर निर्धक्क उग्राउँछ घरिघरि
नेपाल गाउँको रत्ने धामी
ढ्याड्यो ठटाउँदैन आज बोक्सी खेदाउन
कस्तो जोखाना आयो कुन्नि
नेतासँगै रकम साटासाट गर्छ
भोटअघिको मध्यरातमा
अलपत्र धुपौरेहरूका टलक्क टल्किन्छन्
एकमुख हरिया दाँत
आवेगको लेबल लगाएर
‘हट केक’ झैँ थोकमा बेचिन्छ
जात-जाति
धर्म र आदर्शका सामग्रीहरू
भ्रष्टाचारको बजारमा
हो, यहा भ्रष्टाचारकै हाटबजार लाग्छ
सर्वस्व गुमाएका अक्कल-झुक्कल कोही कोही
बिस्तारै विवेकको ढोका उघारेर बाहिर हेर्छन्
अनि चोरऔँलो जोगाएर राख्न चिन्तित हुन्छन्
अर्कोपटक फेरि चुनाव आउँछ
चोर औँलाले चोर औँल्याउन
मौलाएकै छ भ्रष्टाचारको बजार ।




