नेपाली उखान “श्रीमान् श्रीमतीको झगडा परालको आगो” भन्ने भनाइले दम्पतीबीचको विवाद क्षणिक हुन्छ र चाँडै शान्त हुन्छ भन्ने बुझाउँछ । तर, वर्तमान समयमा यो उखान पुरानो र सन्दर्भहीन जस्तो देखिन थालेको छ । आजकलका श्रीमान् श्रीमतीबीचका झगडा परालको आगोभन्दा पनि भुसको आगो जस्तै विस्तारै सल्किँदै ठूला विपत्तिमा परिणत हुने गरेका छन् । यस्तो विवादले हत्या र आत्महत्याजस्ता दु:खद परिणामहरू निम्त्याउन थालेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।
घरभित्रको असन्तुष्टि र कलहले परिवारमा अशान्ति फैलाउन सक्छ । पछिल्लो समय, श्रीमान् श्रीमतीबीचको पवित्र सम्बन्धमा विवाद र कलहको मात्रा बढ्दै गएको छ । यसको प्रत्यक्ष परिणामस्वरूप हत्या, आत्महत्या र अन्य हिंसात्मक घटनाहरूमा वृद्धि भएको देखिन्छ । यस्तो अवस्थाले गर्दा परिवारका सदस्यहरू एकअर्काप्रति डराउनु पर्ने स्थिति उत्पन्न भएको छ, जुन समाजको लागि अति घातक छ ।
अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको घटनामा, तीन सातासम्म उनको कुनै अत्तोपत्तो नलागेपछि उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरिएको समाचारले नेपाल मात्रै नभएर विश्वभरकै दम्पतीबीचको सम्बन्धमा कति विकृत र खतरनाक अवस्था उत्पन्न भएको छ भन्ने कुरा स्पष्ट देखाउँछ । सामान्य शंका र विवादकै कारण मानिसहरू हत्या जस्तो जघन्य अपराध गर्न पछि नहट्ने भएका छन्, जुन चिन्ताजनक अवस्था हो ।
यस घटनामा विहे गरेर दिने बाउ आमाको दोष पक्कै होइन, बिहे गरेर जाने पक्षको पनि दोष होइन । दोष समय र परिस्थितिको हो । तर, यो स्वीकार गर्दा कुनै पनि समस्याको समाधान हत्या हुँदै होइन । जति सुकै ठूलो गल्ती भए पनि हत्या गर्नु अति दु:खद छ । साथै, पुरुषले पनि हत्या सामान्य कारण र झगडाले पक्कै गरेका थिएनन् होला । आफ्नो श्रीमतीलाई, त्यो पनि भर्खरै १ वर्षको बच्चा भएकीलाई मार्ने निर्णय यतिकै आएन होला । वास्तविक समस्या वा मनमुटाव के थियो, त्यो उनीहरूलाई नै थाहा होला ।
श्रीमान् श्रीमती बीचको झगडा परालको आगो भनिए पनि, हत्या जस्तो गम्भीर अवस्था आउनुको पछाडि सामान्य कारण हुनै सक्दैन । नेपालको संविधानले पार्टनर चित्त नबुझे डिभोर्स मार्फत् अलग हुने व्यवस्था दिएको छ, जुन संसारभरका अधिकांश मुलुकमा पनि पाइन्छ । हत्या हुनुभन्दा बरु डिभोर्स नै हुनु उचित छ । साथै, आफ्नो पार्टनरसँग असुरक्षित महसुस गर्दा कसैलाई नबताई मनमा पीडा दबाएर राख्नु गलत हो; ज्यानभन्दा ठूलो इज्जत हुन सक्दैन । श्रीमान् श्रीमती बनेपछि एकअर्काप्रति कर्तव्य एवम् दायित्व पूरा गर्नुपर्छ, आफ्नो नैतिकता भुल्नु हुँदैन ।
यस्ता घटनाहरू विशेष गरी पढे लेखेका, समाजमा प्रभावशाली व्यक्तिहरूका परिवारमा देखिने गरेका छन् । यसको प्रमुख कारण सामाजिक सञ्जालको दुरुपयोग र आपसी विश्वासको कमीलाई मान्न सकिन्छ । यदि परिवारभित्र विश्वासको कमी छ भने, समस्या समाधान गर्न संवाद र परामर्शको सहारा लिनु आवश्यक छ । आवश्यकता परेमा मनोवैज्ञानिक र कानूनी उपचारको पनि सहारा लिनुपर्छ । तर, वर्तमानमा सामाजिक सञ्जालको दुरुपयोग, नकारात्मक प्रभावहरूको नक्कल गर्ने प्रवृत्तिले गर्दा समाजमा विकृति र विघटन फैलिरहेको छ । त्यसैले समाजले यस्ता विकृतिलाई रोक्न पहल गर्नुपर्ने देखिन्छ ।
अन्ततः, श्रीमान् श्रीमतीको सम्बन्धलाई बलियो बनाउन आपसी समझदारी, सम्मान र संवादको भूमिका महत्वपूर्ण हुन्छ । कुनै पनि समस्या समाधान गर्न हिंसा होइन, वार्ता नै उपयुक्त उपाय हो ।




