एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत अब कलाकार मात्र नभई भारतकी माननीय सांसद पनि हुन् । ३८ वर्षको उमेरकी कंगना हाल आफ्नो फिल्म ‘इमर्जेन्सी’ का कारण चर्चामा छिन् । यद्यपि, कंगना अहिलेसम्म पनि अविवाहित नै छिन् । उनका आदित्य पञ्चोलीदेखि ऋतिक रोशन र अध्ययन सुमनसम्मका सम्बन्धले चर्चामा तानिएको भएपनि विवाहको सवालमा उनले अझै निर्णय लिएकी छैनन् ।
भर्खरै राज शमनीको पोडकास्टमा कंगनालाई विवाह र सन्तानका बारेमा सोधिएको थियो । उनलाई ‘के तपाईं विवाह गर्न र सन्तान जन्माउन चाहनुहुन्छ ?’ भनेर प्रश्न गरिएको थियो, जसको जवाफमा कंगनाले ‘चाहन्छु’ भनेकी थिइन् ।
यहि क्रममा, कंगनालाई ‘विवाह गर्नु आवश्यक छ ?’ भनेर पनि सोधियो । यसमा उनले जवाफ दिँदै भनिन्, ‘यो विषय केही विवादास्पद छ, तर मलाई लाग्छ कि जीवनमा एक साथी हुनु जरुरी छ । साथी बिना बाँच्न गाह्रो हुन्छ, तर साथीको साथमा बाँच्न पनि गाह्रो नै हुन्छ । तर साथी बिना जीवन अझै कठिन हुन्छ ।’
कंगनाले थप्दै भनिन्, ‘जति उमेर बढ्दै जान्छ, कुनै पनि व्यक्तिसँग तालमेल मिलाउन त्यति नै गाह्रो हुन्छ । जति कम उमेरमा विवाह गरिन्छ, उति नै एडजस्ट हुन सजिलो हुन्छ। गाउँमा अझै पनि अति कम उमेरमै विवाह गरिदिने चलन छ, जुन उमेरमा उन्मादले भरिएको हुन्छ, र त्यो उन्मादलाई दिशा दिनु राम्रो हो ।’
तीन वर्षअघि टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा कंगनाले भनेकी थिइन्, ‘म अवश्य पनि विवाह गर्न र सन्तान जन्माउन चाहन्छु । पाँच वर्षपछि म आफूलाई एक आमा र श्रीमतीको रूपमा देखेकी छु ।’




