काठमाडौं । नायिका पूजा शर्मा फेरि अर्को विवादमा मुछिएकी छन् । गत भदौ ८ गते, एप्रोनजस्तो लुगा लगाएर चलचित्र ‘सतिदेवी’को प्रिमियरमा पुगेकी पूजालाई ट्रोल गरिएको थियो । अभिनयभन्दा बढी विवादका कारण चर्चामा आउने पूजाले यस पटक चर्चित गायिका समीक्षा अधिकारीसँग सम्बन्धित एक प्रसङ्ग बारे पडकास्टमा दिएको टिप्पणीका कारण आलोचनाको सामना गर्नुपरेको छ ।
समीक्षाको व्यक्तिगत जीवनबारे गरिएको उक्त टिप्पणीले पूजालाई विवादमा तानेको हो । यसैलाई लिएर गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै आफ्नो असन्तुष्टि व्यक्त गरेकी छन् । उनले कलाकार र पोडकास्ट सञ्चालकहरूले अदालतको काम गरिरहेको जस्तो आभास भएको बताउँदै आक्रोश व्यक्त गरिन् ।
समीक्षाले पूजाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै, ‘के सही, के गलत छुट्याउन नसक्ने उमेरमा माफी दिन तयार भएँ,’ भन्दै पुरानो प्रसङ्गको चर्चा गरेकी छन् । उनले पूजाको बारम्बारको प्रहारलाई अनुचित ठहराउँदै सिनेमा चलाउन अरूलाई बदनाम गर्ने प्रयासलाई गलत भनेकी छन् ।
पूजाले पाँच दिनअघि एक युट्युब च्यानलको पडकास्टमा विवादित अभिव्यक्ति दिएकी थिइन् । पडकास्टमा पल शाहसँगै उपस्थित उनले आफूलाई टिमबाट आउट गर्न खोजिएको बताउँदै कानूनले सत्यको पक्षमा फैसला गरिसकेको दाबी गरिन् । उनले पललाई अरूसँग तुलना नगर्न र उनका लागि अझै सतर्क रहनुपर्ने सुझाव दिइन् ।
पूजाले पललाई सुपरस्टारको संज्ञा दिँदै, उनलाई अझै फसाउन सक्ने सम्भावना रहेको बताइन् । उनका यी अभिव्यक्तिहरूले फेरि एकपटक उनलाई विवादको केन्द्रमा पुर्याएको छ ।




