काठमाडौं । नायिका पूजा शर्मा पुनः विवादमा परेकी छन् । यस पटक उनले गायिका समीक्षा अधिकारीलाई लक्षित गरी बोलेपछि आलोचनाको सामना गर्नुपरेको छ । पूजा र समीक्षाबीचको भनाभन सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ ।
समीक्षाले पूजाले फिल्मको प्रचारका लागि बारम्बार आफूलाई प्रहार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छिन् । उनले सत्य के हो भन्ने कुरा आफू, पूजा र भगवानलाई मात्र थाहा भएको बताउँदै पोडकास्टहरूलाई न्यायाधीशको भूमिका निर्वाह गर्ने आरोप लगाएकी छिन् ।
‘यदि पोडकास्टहरू नै अदालत हुन् र यस्ता कलाकारहरू न्यायाधीश हुन् भने, त्यतिबेलै यहींबाट फैसला गरिदिएको भए पनि हुने थियो । सत्य के हो भन्ने कुरा या त उसलाई थाहा छ, या त मलाई थाहा छ, वा भगवानलाई मात्र थाहा छ,’ समीक्षाले लेखेकी छिन् । उनले आफूमाथि भएका गलतियाँको सामना गर्न र माफी दिन सक्ने क्षमता रहेको भन्दै आफूले माफी दिएर सही निर्णय लिएको बताएकी छिन् ।
यसको जवाफमा पूजाले आफ्नो चलचित्रको प्रचारका क्रममा ‘शत्रु’ हरूले अवश्य नै प्रतिक्रिया दिने बताएकी छिन् । उनले समीक्षाले आफ्नो भिडियो सेयर गर्दै नकारात्मक सन्देश दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् ।
पूजाले आफू बोल्न नचाहे पनि चलचित्रको प्रचारका क्रममा समीक्षाले गरेको टिप्पणीले बोल्न बाध्य भएको स्पष्ट पारिन् । उनका अनुसार मिडियामा आएका सम्पूर्ण सामग्रीहरू पेशेवर कारणले मात्रै गरिएको हो, र यो बहसलाई व्यक्तिगत जीवनसँग जोड्न नहुने बताएकी छिन्। “चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै,” पूजाले भनिन् ।




