एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपाली फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । निर्देशक मीन भामको फिल्म “सम्बाला”को प्रिमियरका लागि काठमाडौं आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकास्टमा अन्तर्वार्ता दिँदै नेपाली फिल्ममा अभिनय गर्ने इच्छा रहेको खुलासा गरेका हुन् ।
विशेष गरी उनले निर्देशक मीन भामसँग सहकार्य गर्ने चाहना व्यक्त गरेका हुन् । उनले भने, “म अभिनयको क्षेत्रमा केहि योगदान दिन चाहन्छु, विशेष गरेर मीनसँग । ‘सम्बाला’ एक अद्वितीय फिल्म बनेको छ । यस्तो फिल्म निर्माण गर्न ठूलो साहस चाहिन्छ । फिल्ममा पेमाको अभिनय र सिनेमेटोग्राफी दुवै उत्कृष्ट छन् ।”
अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूलाई दिएको न्यानो स्वागत प्रति कृतज्ञता व्यक्त गर्दै नेपालीहरूको व्यवहार अत्यन्त राम्रो भएको पनि बताए ।






