एजेन्सी । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी कोनिडेलाले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएका छन् । भारतीय फिल्म उद्योगमा उनले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै गिनिज वर्ल्ड रेकर्डले उनलाई यो सम्मान प्रदान गरेको हो ।
हैदराबादमा आइतबार आयोजित एक विशेष कार्यक्रमका क्रममा बलिउड अभिनेता आमिर खानले चिरञ्जीवीलाई गिनिज प्रमाणपत्र हस्तान्तरण गरे । चिरञ्जीवीले १५६ फिल्मका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेर यो कीर्तिमान हासिल गरेका हुन् ।
पुरस्कार ग्रहण गर्दा चिरञ्जीवीले भने, “म यो अविस्मरणीय क्षणलाई कहिल्यै बिर्सने छैन । नृत्यले नै मलाई स्टार बनाएको हो, र नृत्यको माध्यमबाट सम्मानित हुनु मेरा लागि ठूलो गर्वको कुरा हो ।”
आमिर खानले चिरञ्जीवीप्रति आफ्नो माया व्यक्त गर्दै भने, “म पनि चिरञ्जीवीको फ्यान हुँ । उनी मेरो ठूल्दाजुजस्तै लाग्छन् । जुनसुकै गीतमा उनी देखिए पनि उनी मनदेखि नाच्छन्, र उनलाई हेरिरहँदा आँखा अन्तै जाँदैन ।”
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले चिरञ्जीवीलाई बधाई दिँदै सामाजिक सञ्जालमा भिडियो सेयर गरेका छन् । उनले भने, “गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएर मेगा स्टार चिरञ्जीवी गारुले तेलुगु सिनेमामा अतुलनीय योगदान दिएका छन्, जसले विश्वभर तेलुगु संस्कृतिको मान बढाएको छ ।”






