“तृष्णाको रंग मेटाउन
वर्षिएको झरी झैं
थोपा तिमी बन्न पर्छ;
संघर्षको आकाशमा
गर्जिएको बादल झैं
चटाङ तिमी बन्न पर्छ;
शोषणको विरोधमा
आवाज उचाल्ने सहिद झैँ
विप्लवी तिमी बन्न पर्छ”,
“मायालुको न्यानो न्यानो कथामा
कलमको थुतुनो मुसार्ने
ए कवि भनौदाहरू हो
गरिबि र क्षुधाको आतङ्कले
नांगिएको जीउ र
रीत्तिएको भुँडीहरूको पनि
शब्द कोरि दिने गर”
“भविष्य युवाहरूकै हो”
सत्ताका राता आँखा,
जेल र नेलको सजाय
फाँसीको फण्डा,
केहीले युवाको सङ्कल्प तोड्न सकेको छैन,
“नठान तिमी सुस्केरा हाली म रुने दुखी हुँ
चट्टाने धर्ती फोरेर बोल्ने म ज्वालामुखी हुँ,
देशका तमाम दुराचार र असंख्य
चुसाहाहरूको जीब्रो थुत्न
क्रान्ति र बिप्लवको
गोरेटोमा हिड्न चाहने
म युवक,
“अन्धविश्वास र रूढीवादमा
जेलिएको मानिसहरूमा
परिवर्तन र साहसको रंग हेर्न
मातिएको छ मान्छे”
“मैले त यहाँ साथी
चियाका ती हरियो सुइरोमा
मेरै आमा बाबुको रगत
पोखिएको देख्तै छु।
शोषण दमनले उत्पीडित
सुषुप्त आत्माहरूमा मैले
प्रतिवादको उत्तप्त मरिचिका
दन्किएको देख्तै छु
यो उदाङ्गो आकाशको छातीमा
‘क्रान्तिको क्षितिज खोज्दै’
रक्ताक्त सूर्य उदाउन तर्खर गरेको
अनुभव गर्दै छु”
“शोषण र दुर्नीतिले मेरो देश
र जनताकको मानचित्र
क्रमश:
खिइँदै गएको देख्ता
मलाई त अब
चिर जाग्रत महान अक्टोबर क्रान्तिको
बिप्लवी श्लोगानका आवाजहरू
चिच्याई दिन
मन लागेको छ”,
“आधुनिकताको वायुयानमा
उडनेहरूले
फुटपाथको
नाङ्गो करङलाई नसम्झदा,
विभेदतमा बाँचेको यो जिन्दगीलाई त्यस्को
प्रतिकार चाहिएको छ,
सामान्य सुधार,
सहुलियत, दान र
सहयोगले युगौंदेखि पाकेको समाजको
घाउ सुकाउन सक्तैन,
यो असन्तुलनको समाप्ति हुँदैन,
घाउको आँखो निकालेर फ्याँकिदिन सक्तैन,
खिल निकालिदिन सक्तैन,
सङ्ग्राम र आन्दोलनले, प्रचलित व्यवस्थाको
जरा उखेलेर,
नौलो व्यवस्थाको स्थापना गरेमात्र
यहाँका खटिखानेहरूले न्याय पाउने छन्
“हाम्रो समाजको यो दुर्गन्धी वातावरणमा
जागृतिको शुद्ध आँधी बोलाउनु छ
शोषण, अत्याचार र हीनताका कसिङगरहरू
संघर्षको पहिरोमुनि दवाउनु छ
अनि त्यसपछिको समाजले तब
युगौंको मलीन काँचुली फेर्ने छ
समानताको उज्ज्वल दर्पणमा
चुसिएका धेरै अस्तित्वहरूले
आफ्नो उज्ज्वल प्रतिबिम्ब देख्ने छ”
“स्वतत्रताको अभियान
मुक्तिको सङ्ग्राम
जाग्रत विश्व सन्तान
मनुषत्व आज पुँजिको गुलाम
क्रान्तिको लामो बथान
रक्ताध्वजाको यात्रा महान -!
रोडेशिया, क्युबा, भियतनाम
मुक्ति सङ्ग्रामको नौलो नाम”
“विदेशी कुटनीतिज्ञको सस्तो प्रलोभनमा
श्रम बेची जिउने मेरा पुर्खाका सन्तानहरू
भरिया, कुल्ली र कमानेको उपाधी थाप्दै
शहर बजारको गल्लीमा अस्तित्व गुमाएको देख्दा
मलाई त यहाँ ती चिसा चेतनामा
अस्तित्वको राँको बालिदिन कर लागेको छ”
“कस्तो स्वाधीनता” र “मेरो यही सोधाई छ”
“आजीवन मेहनत मजदुरी गरि
महल, गोदाम र तिजोरीको
अस्तित्व बचाइदिनेहरूको;
भरपेट भात, ओबानो छानो र
आत्मासन्तुष्टिको जिज्ञासा राख्नेहरूको
किन अनिकालले सन्त्रस्त छ्न् झोपडी
किन भाँडा छ्न् रित्ता??”
रात जति नै अँध्यारो नहोस्
शीत जति नै कठाङ्ग्रिएको नहोस्
किन यसको अनिवार्य समाप्ति छ ।
“हुरीको संत्रासित साम्राज्यले
छोडिगएको स्तब्धता झैं
असमानताको अँध्यारोमा भोलि
समानताको भानु उदाउने छ
संघर्षको अधुरो इतिहासमा भोलि
विजयको अध्याय थपिने छ
समस्या र आतंकको साम्राज्यमा भोलि
समाधान र
संझौताले राज गर्ने छ”
“प्रभातको नौलो किरण जब
छिप्पी सकेको हुन्छ तब
जुलुशी ती पाइलाहरूले
बिप्लवी ती आवाजहरूले
“क्रान्ति ! क्रान्ति !” चिच्याईरहेका हुन्छ्न्
जस्मा म थिएँ
मेरा छिमेकी थिए
अनि विश्वका धेरै
शोषित मानिसहरू थिए”
“भोलि भुँईचालो आउने छ
यश धरतीको आँगनमा
भत्काउने छ यस्ले
ती गगनचुम्बी महलहरू
भत्किने छ्न् ती भाटे झोपडीहरू पनि
विभेदताको खाडल पुरिने छ”
“धेरै प्राणीहरूलाई जोगाउन नसक्दा
मेरो दुई चक्षुले
ज्वालामुखी झैं उतप्त आँसु
बगाई सकेको छ,
आँसु
विद्रोहको
प्रतीक हुनै सक्तैन,
असमानताको अँध्यारोमा अब,
समानताको भानु उदाउने छ,
संघर्षको अधुरो इतिहासमा भोलि,
विजयको अध्याय थपीने छ
समस्या,आतङ्क र भ्रष्टाचारको साम्राज्यमा
भोलि
भर देश
क्रान्तिको बिगुल
फूकिनेछ र
जनताले
राज गर्ने छ”।




