काठमाडौं । तराई–मधेसको समुदायमा अझै पनि विकराल समस्याका रुपमा रहेको दाइजो प्रथाले समाजमा ल्याएको विकृति बारे सन्देशसहित निर्माण गर्न लागिएको छोटो चलचित्र ‘दाइजो प्रथा’को छायांकन सकिएको छ ।
बैंक तथा वित्तीय संस्थामा विगत डेढ दशकदेखि सक्रिय दिनेश निरौलाले निर्देशन गरेको उक्त सन्देश मुलक चलचित्रको धनुषा र महोत्तरीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
दाइजो प्रथाको रोकथाम र समाज सशक्तिकरणको सन्देश दिन निर्माण गरिएको चलचित्रमा पूजा ठाकुर र निर्देशक निरौलाकै मुख्य अभिनय रहेको छ भने अनिता रानी मण्डल, चन्देश्वर सिंह, बिन्देश्वर सिंह, कृष्ण सुवेदी, सरिता ठाकुर लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
चलचित्रको गीतमा गायिका रचना रिमालले स्वर दिएकी छन् । सहायक निर्देशक तथा सल्लाहाकारमा सन्जय साह रहेका छन् । उक्त छोटो चलचित्र आगामी मंसिरमा प्रदर्शनमा आउने निरौलाले जानकारी दिए ।
छोटो चलचित्रमा दाइजो लिएर विवाह गर्दा त्यसले घर परिवार र समाजमा निम्तिएका समस्याहरुलाई उठान गरिएको भन्दै निरौलाले दाइजो प्रथाले महिलाहरूले अपमान व्यहोर्ने र अकालमै मृत्युवरण गर्नुपर्नेसम्मका दृष्टान्तहरू रहेको बताए ।
यस प्रथाले समाजमा असमानता, उत्पीडन, अत्याधिक ऋणका कारण गरिवी जस्ता समस्याहरु अझै पनि देखिने गरेको भन्दै उक्त प्रथालाई सशक्त सामाजिक सचेतनाको लागि यो चलचित्र निर्माण गरिएको बताए ।






