काठमाडौं । दशैंको चाड सुरु भइसकेको छ । दशैंमा मान्यजनसँग टीका र जमारा लगाएर आशीर्वाद लिने परम्परालाई जति महत्त्व दिइन्छ, त्यत्तिकै मासु खाएर रमाइलो गर्ने पर्वको रूपमा पनि दशैंलाई लिइन्छ । घरमा लामो बिदामा बस्दा, आवश्यकताभन्दा बढी मासु र अन्य परिकारको सेवन गर्दा धेरैजसो मानिसहरू दशैंपछि विभिन्न स्वास्थ्य समस्यासहित अस्पताल पुग्ने गरेको पाइन्छ ।
दशैंको बेला विशेष सावधानीसाथ खानपिन गर्नु स्वास्थ्यको दृष्टिले लाभदायक हुन्छ । अत्यधिक मासु वा अस्वस्थ खानपिनले स्वास्थ्यमा समस्या निम्त्याउँछ । शरीरले थेग्न सक्नेभन्दा बढी खाना खाँदा विभिन्न रोगहरूको जोखिम बढ्छ । धेरैजसो मानिसहरू खान नपाएर भन्दा खान नजानेर समस्यामा पर्ने गरेको भनाइ सुन्नमा आउँछ ।
अत्यधिक खानेकुराबाट हुन सक्ने स्वास्थ्य समस्याहरू
चाडपर्वको समयमा माछामासु, चिल्लो परिकार र चिसो पेय पदार्थको अत्यधिक सेवनले शरीरमा विभिन्न प्रकारका समस्याहरू निम्त्याउन सक्छ । दशैंको समयमा विशेष गरी खसी, कुखुरा, सुँगुर र राँगाको मासु अत्यधिक खाइन्छ । यस्तो खानपिनले पेट तथा पाचन प्रणालीमा समस्या ल्याउँछ । यसले गर्दा पेट दुख्ने, ग्याष्ट्रिक, अल्सर, फुड पोइजनिङ जस्ता समस्याहरू देखा पर्न सक्छन् ।
दीर्घकालीन रूपमा भने मोटोपना, कोलेस्ट्रोलको वृद्धि, मधुमेह, मुटु र रक्तनलीका समस्याहरू, उच्च रक्तचाप, मस्तिष्कघात र प्यारालाइसिसको खतरा हुन्छ । यी रोगहरू मुख्यतया खानपिन र जीवनशैलीसँग सम्बन्धित हुने गर्छन् ।
चाडपर्वमा रमाइलो गर्ने क्रममा अस्वस्थ तरिकाले खाइने खानेकुराले फाइदा नगरी बेफाइदा पुर्याउँछ । त्यसैले मासु खाँदा सन्तुलनमा रहनु जरूरी छ । मासु खाइसकेपछि व्यायाम गर्नु, हिँडडुल गर्नु र सकेसम्म उसिनेको वा झोलयुक्त मासु खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
त्यसैगरी, चिल्लो र मासुयुक्त खाना खाँदा पानी, सागसब्जी र सलादको पर्याप्त मात्रामा सेवन गर्नु राम्रो हुन्छ । यदि मासु खाएपछि पेटमा असहजता महसुस भएमा कागती पानी वा ज्वानो पानी सेवन गर्न सकिन्छ । बेलुकीको समयमा मासु कम खाएमा स्वास्थ्यमा राम्रो असर पर्छ, साथै प्रशस्त मात्रामा पानी र सलाद खाँदा पाचन प्रक्रियामा मद्दत मिल्छ ।






