काठमाडौं । निर्देशक तथा निर्माता निश्चल बस्नेतको असन्तुष्टि प्राय: फिल्म रिलिजको समयमा प्रकट हुने गर्छ । उनले आफ्नो फिल्म ‘दिमाग खराब’को प्रदर्शनमा उपयुक्त शो नपाएको भन्दै हल संचालकहरू प्रति आक्रोश व्यक्त गरे ।
कमाइको आधा हिस्सा नपाउने स्थितिमा फिल्म उठाउने चेतावनी दिएपछि चलचित्र संघले उनका मागमा सहमति जनाउन बाध्य भएको थियो । यस घटनाले घरेलु फिल्मको व्यापारमा एउटा महत्वपूर्ण ‘माइलस्टोन’को रूपमा मान्यता प्राप्त गरेको छ ।
बस्नेतले हालै निर्मित ‘बेहुली फ्रम मेघौली’ फिल्मको बारेमा पनि असन्तोष व्यक्त गरेका छन् । उनले राम्रो प्रतिक्रिया र दर्शकको साथ पाएको भएपनि आफ्नो फिल्मको प्रदर्शनमा असन्तुष्ट र क्रोधित रहेका छन् ।
अहिले प्रदर्शनमा रहेको आलिया भट्ट स्टारर हिन्दी फिल्म ‘जिग्रा’लाई शो दिएकोमा उनले असन्तुष्टि जनाएका छन् । सोमबार उनले सामाजिक सञ्जालमार्फत यस विषयमा प्रतिक्रिया दिएका छन् ।
बस्नेतले हलको विकल्प खोज्ने चेतावनी पनि दिएका छन्, तर उनले विकल्पको बारेमा विशेष जानकारी भने दिएका छैनन् । यो संकेत ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म ल्याउने तर्फ इङ्गीत गर्दैछ भन्ने अनुमान गरिएको छ ।
उनको स्टाटसमा अभिनेता पुष्कर गुरुङले टिप्पणी गरेका छन्, “यदि प्रत्येक एरियामा ५० सिट भएको मिनी हलको सुरुवात गरिन्छ भने मात्र यो ठीक हुनेछ ।” जवाफमा बस्नेतले भनेका छन्, “अब हलसम्म जानुपर्ने आवश्यकता छैन, दाजु । घर घरमा फिल्म पुर्याइन्छ । विकल्प त्यही हो ।”






