काठमाडौं । कलाकार पल्पसा डंगोल अर्थात् हाँस्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी मिर्गाैलामा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।
करिब पाँच वर्षदेखि नै उनकाे मिर्गाैलामा समस्या देखिएकाे थियाे । यद्यपी उनले सबैसँग लुकाएकी थिइन् । अहिले भने राेगले च्यापेपछि उनले सबैलाई म्यासेजमा ‘अब बाँच्दिन, मलाई भेट्न आऊ’ भनेर बोलाएकी थिइन् । चम्सुरीको म्यासेज आएपछि उनलाई भेट्न हिजो दीपाश्री निरौला भेट्न पुगेकी थिइन् । दीपाले भनेकी छिन्– ‘हिजो अकश्मात् म त बाँच्दिन भनेर म्यासेज आयो । यहाँ आएर हेर्दा म त छक्कै परेँ, यस्तो स्थिति रहेछ । रोग लुकाइन् । पहिले नै भनेकाे भए हामीले केही गर्न सक्थ्याैँ हाेला ।’

एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र उनी घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै श्वासप्रश्वासमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । उनले केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् ।
अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।






