काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले नेपाली चलचित्र क्षेत्रमा समिर भट्टको उदयलाई काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको उदयसँग तुलना गरेका छन् । बुधबार सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनले भने, “जसरी बालेनको उदय भएको थियो, त्यस्तै समीर भट्टको उदय पनि भएको हो । ऊ पूर्ण रूपमा तयार भएर आएको थियो, तर इन्डस्ट्रीको कसैले पनि उसलाई साथ दिएन ।”
सन्तोष सेनका अनुसार, जब समिर भट्ट फिल्म उद्योगमा प्रवेश गरे, कोही पनि खुसी भएनन् । “समीर जसरी तयारी गरेर इन्डस्ट्रीमा आयो, त्यसप्रति कुनै उत्साह देखिएन,” उनले भने । “विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०/१५ वर्षसम्म मेहनत गरी ट्रेनिङमा राखेर योद्धा बनाउनु चानचुने कुरा हो र ? समीरले घुम्न मन गरेन होला ?”
सन्तोषले समिर भट्टलाई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिनेता बन्ने विश्वास व्यक्त गरे । “एक नयाँ अनुहार आएको छ, यसलाई कसरी ब्रान्डिङ गर्ने ? यो व्यक्तिले नेपाली चलचित्र क्षेत्रमा मात्र होइन, विश्वभर नेपाली कलाकारको पहिचान दिलाउने सम्भावना छ,” उनले भने ।






