एजेन्सी । रातो रक्तकोष र सेता रक्तकोष मिलेर रगत बनेको हुन्छ । शरीरका लागि याे महत्वपूर्ण छ । रगतको माध्यमबाट नै शरीरका अंगहरुमा अक्सिजन र अन्य पौष्टिक तत्वहरु पुग्ने गर्छन् ।
रगतमा खराबी भएमा उसलाई ठूलो स्वास्थ्य समस्या देखिन सक्छ । ब्लड क्यान्सर पनि त्यस्तै खतरनाक रोग हो । सुरुवाती चरणमा यसका लक्षणहरु सामान्य हुन्छन्, जसलाई प्रायः मानिसहरुले बेवास्ता गरिरहेका हुन्छन् । हेराैँ ब्लड क्यान्सरका सुरूवाती ६ संकेत :
बारम्बार संक्रमण : ब्लड क्यान्सर भएको व्यक्ति बारम्बार विभिन्न संक्रमणबाट ग्रसित हुन्छ । ब्लड क्यान्सर भएको व्यक्तिको रगतमा केही यस्ता कोषहरू विकसित हुन्छन्, जसले स्वास्थ्यमा हानी पुर्याउँछ । रगत हाम्रो शरीरको प्रत्येक अंगमा पुग्ने भएकाले यसको लक्षण कुनैपनि अंगमा देखिन सक्छ । सामान्यतया ब्लड क्यान्सरको बिरामीमा छालाको संक्रमण (छालाको रंग रातो, कालो या फुस्रो हुनु, डाबर या खटिराहरू देखापर्नु), फोक्सोको इन्फेक्सन, घाँटी या मुखको इन्फेक्सन हुन सक्छ । एकैसाथ अन्य कयौँ इन्फेक्सन पनि हुन सक्ने सम्भावना रहन्छ ।
चोट लाग्दा रगत बग्न नरोकिनु : बाह्य हावाको सम्पर्कमा आउँदा रगत जम्ने प्रक्रिया सुरू हुने भएकाले सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा चोटपटक वा स्क्र्याच आउँदा रक्तस्राव प्रायः छोटो समयमा आफैँ रोकिने गर्छ । तर ब्लड क्यान्सरका बिरामीमा यस्तो प्रक्रिया हुँदैन ।
यदि कुनै व्यक्तिलाई ब्लड क्यान्सर एको छ भने उसलाई चोट लागेमा रक्तस्राव छोटो अवधिमा रोकिँदैन र घाउ निको हुन पनि लामो समय लाग्छ । बिना चोटपटक नाक वा दाँतका गिजाबाट रगत बग्ने, महिनावारीमा अत्यधिक रक्तस्राव हुनेलगायतका लक्षणहरू पनि देखिन सक्छन्, जुन हामी बेवास्ता गरिरहेका हुन्छौँ ।
हरेक समय थकान महशुस र सुस्त हुनु : थकान र सुस्तता क्यान्सरका धेरै सामान्य लक्षणहरू हुन्, जुन हामी आफैंमा पनि प्रायः महशुस गर्न सकिन्छ । तर थकानका कारण हामीलाई दैनिक काम गर्न समेत असहज हुन थाल्यो र दिनभर सुस्त रहियो भने तुरून्त चिकित्सकसँग परामर्श गरी जाँच गराउनुपर्छ । किनकी यो ब्लड क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ ।
तीव्र गतिमा तौल घट्नु : यदि आफ्नो तौल अचानक घट्दै गयो भने तौल परीक्षण गर्नु अत्यावश्य हुन्छ। एक महिनाभित्र बिना कुनै प्रयास धेरै कम तौल भयो भने यो स्वास्थ्यसम्बन्धी समस्याको संकेत पनि हुन सक्छ। ब्लड क्यान्सर हुँदा पनि बिना कारण तौल घट्न थाल्छ ।
जोर्नीमा दुखाइ : जोर्नीको दुखाइ हुने समस्यालाई पनि हामी सामान्य रूपमा लिन्छौँ । सामान्यतया जोर्नी दुखाइको कारण धेरै हुन सक्छन् । थकान, हड्डीको कमजोरीलगायतका कारण पनि जोर्नीमा दुखाइ हुन्छ । यद्यपि ब्लड क्यान्सरको कारण पनि जोर्नी र हड्डीमा दुखाइ हुन सक्छ ।
भोक कम लाग्नु, पेटमा समस्या देखिनु : ब्लड क्यान्सरले पाचन प्रणालीमा पनि नराम्रो प्रभाव पार्छ। भोक लाग्दैन। अपच, कब्जियत, दिसा-पिसाबमा रगत देखिनेलगायतका लक्षणहरू देखिन्छन्। यस्ता लक्षण देखिए तुरून्त स्वास्थ्य जाँच गराउन चिकित्सकहरू सल्लाह दिने गर्दछन्।






