एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोराको ब्रेकअपको चर्चा लामो समयदेखि चलिरहेको थियो, र हालै अर्जुनले एक कार्यक्रमका क्रममा यसलाई पुष्टि गरेका छन् । ‘सिंघम अगेन’को प्रमोशनमा पुगेका अर्जुनलाई एक फ्यानले मलाइका बारे प्रश्न गर्दा उनले- ‘अहिले सिंगल छु’ भन्दै आफ्नो सम्बन्ध स्थिति स्पष्ट गरेका हुन् ।
मुम्बईमा आयोजित प्रमोशनल कार्यक्रममा अर्जुनसँग मराठीमा गरिएको प्रश्नको जवाफमा उनले हास्दै भने- ‘उहाँले अग्लो र सुन्दर यसरी भन्नुभयो कि विवाहको कुरा गर्दै हुनुहुन्छ । त्यही भएर मात्र प्रश्नको जवाफ दिँदैछु ।’
अर्जुन र मलाइका केहि समयदेखि अलग बसेका छन्, र उनीहरूले एकअर्कालाई जन्मदिनको शुभकामना समेत दिएका छैनन् । यद्यपि, गत महिना मलाइकाको बुबाको निधन हुँदा अर्जुन परिवारको साथमा देखिएका थिए । यस अवसरमा मलाइकाका पूर्व पति अरबाज खान र उनको परिवार पनि उपस्थित थिए ।
व्यक्तिगत जीवनको हिसाबले मलाइकाले सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् र सन् २०१६ मा अलग भएपछि अर्जुनसँग डेट गर्न थालिन् । सन् २०१९ मा दुवैले आफ्नो सम्बन्ध इन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । करिब ८ वर्षको सम्बन्धपछि, यस वर्ष उनीहरूको ब्रेकअप भएको हो ।
अर्जुनको आगामी फिल्म रोहित शेट्टीको बहुप्रतिक्षित ‘सिंघम अगेन’ हो, जुन रामायणबाट प्रेरित छ । यस फिल्ममा अजय देवगन राम, करीना कपूर सीता, टाइगर श्रौफ लक्ष्मण, रणवीर सिंह हनुमान, अक्षय कुमार जटायुको भूमिकामा देखिनेछन् भने अर्जुनको भूमिका पनि खास रहेको छ ।
फिल्म दीपावलीको अवसरमा नोभेम्बर १ मा रिलिज हुँदैछ, र यसको टक्कर कार्तिक आर्यनको ‘भूल भुलैया ३’ सँग हुनेछ ।






