अन्योलै अन्योलको
काँडेतारका बारहरू छिचोल्दै
अलिकपर सुरक्षित ठाउँसम्म पुगौँ भन्यो
एक कृत्रिम मस्तिष्कको पञ्जाले
हातै नङ्ग्र्याइदिन्छ
मस्तिष्कका झ्यालढोका भत्काएर
जताततै छापछाप्ती छ उसको अस्तित्व
मौलिक सिर्जना लेखौँ
कि सापटी अवधारणा पोखौँ
खै के लेखौँ लेखौँ !
बालुवाटारै बेचिएको
भ्रष्टाचार लेखौ कि
सिंहदरबार बेथिति लेखौ ?
मौलिकताको बजारभाउ महँगो छ ।
मौलिकको ट्याग टाँसेर बन्द छ देशनै
सेकेन्डह्यान्ड सामग्रीहरू जस्तो
बिदेशको कामदार उत्पादनको कारखाना
बनाएका देश
सरकार आफ्नै ट्रेडमार्क टाँसेर जनतालाई छक्याउँदै
बिदेशबजारको भेडा झै बेलगाम बेचिरहेछन्
पसिनामा नुहाइरहेका सर्जकहरूलाई
किल्चँदै, लत्याउँदै
हे कलम म अब
कूलमान लेखौ कि
बालेन लेखौ ?
मस्तिष्कलाई नै चुनौती दिन्छ
मस्तिष्कको गर्भाशयबाट जन्मिएको अर्को मस्तिष्क
सबै मौलिक चिन्तनको भँडारको चाबी
आफ्नो पोल्टामा घुसारेर
संवेदनाहीन एउटा मस्तिष्क
कवि बनेको छ यसघरी
कलाकार बनेको छ
निराकार एउटा मस्तिष्क
भन्छ रवि लेखौ कि
छवि लेखौ ?
म त अहिले आफ्नै मस्तिष्क हराएर
अभियोग दर्ता गराउने तरखरमा छु
खै अब त झन्
के लेखौँ लेखौँ
आफै हराएको सूचना लेखौँ
कि
मस्तिष्क गुमाएको वेदना लेखौ !
सर्दैन कलम
सहकारीका ठगहरूको
लिस्ट लेखौ कि
भूटानी शरणार्थीको लेखौ ?
जसले –
न खेत जोत्यो कहिल्यै
न भोका पेटका अनिदा रातहरू भोग्यो
न त उसको कुमारीत्व हर्यो कुनै वासनाजीवीले
वास्तविक भोगाइसँग अपरिचित ऊ
उत्तरदायित्वदेखि कोसौँ टाढा
सिद्धान्तको सीमानाबाहिर विचरण गर्ने
अशरीरी आत्मा
परमात्मा बनेर
आज मेरो कलमले
गिरिबबन्दू लेखौ कि
बाईडबडि लेखौ ?
हुन त, म पनि कहाँको संवेदनशील कवि हुँ कविज्यू!
विश्वास गर्नुहोस् । (अथवा नगर्नुहोस्)
घामको तीब्रता जोखेर
झरीको प्रकोप बुझेर
उस्तै उस्तै छाता बोक्ने
एक अवसरवादी सर्जक म
जो सिर्जनाभन्दा स्वीकृतिको चिन्ताले ग्रस्त छ
जो गौँडा खोजेर मस्तिष्क बेच्न व्यस्त छ
देश खाली हुँदैछ लेखौ कि
गाउँ खाली भैसके लेखौ ?
यस्तै उस्तै परिवेश र परिस्थितिले
अन्योलै अन्योल जन्माएर
दिग्भ्रमित पारेको समयमा
खै के लेखौँ लेखौँ
सफलताको प्रतिवेदन लेखौँ
प्रतिष्ठाको निवेदन लेखौँ
के लेखौँ लेखौँ!
तिमी भन्छौ –
लेख न लेख
म भन्छु –
हेर न हेर
मस्तिष्क र कृत्रिमताको साँध-सिमाना हेर
मस्तिष्कभित्रको कृत्रिमताको काँचुली हेर
छ केही लेख्ने विषय ?
केही बाँकी छ ?




